‘सर्वाधिक’ मत सहित एमालेको राजनीतिमा उदाएका वडाध्यक्ष सिंह

Share post:

महेन्द्रनगर । पछिल्लो समय प्रमुख राजनीतिक दलमा युवा पङतीको आकर्षण बढ्दै गएको छ । महाधिवेशन सम्पन्न गरेका सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द, प्रमुख प्रतिपक्ष नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले युवालाई राजनीतिको मूलधारमा ल्याउन बाक्लो उपस्थिती गराएको छ ।

केन्द्र, प्रदेश, जिल्ला हुदै तल्लो तहसम्म युवाहरुलाई कमिटिमा समेटिएको छ । जिल्ला अधिवेशन गरिरहेको नेकपा एमालेले त युवालाई राजनीतिको मूलधारमा ल्याउन ‘युवा सदस्य’ भनेर छुट्टै ‘कलष्टर’ नै बनाएको छ ।

राजनीतिमा स्थान पाएकामध्ये एक कञ्चनपुरको बेदकोट नगरपालिका–२ का अध्यक्ष नरेश सिंह पनि हुन ।
जिल्लाका ‘कान्छा’ वडाध्यक्ष सिंह युवाको नेतृत्व गर्दै सर्वाधिक मत (२३३) सहित एमाले सदस्यमा विजयी भएका हुन ।

बेदकोट नगरपालिकाका नगर प्रवक्ता समेत रहेका उनको राजनीतिक यात्रा लोभलाग्दो छ । वडामा राम्रो छवि बनाएका सिंहले राजनीति थालेको धेरै भएको छैन । उनले एमालेको भातृ संगठन अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरे ।

यो पनिः यस्तो बन्योे एमाले कञ्चनपुर हाक्ने ‘टीम सुरेन्द्र’

तत्कालीन दैजी गाविस–६ मा जन्मिएका ३० वर्षीय सिंह बैजनाथ माध्यमिक विद्यालय जडेपानीमा पढ्दै गर्दा अनेरास्ववियुको राजनीतिमा लागेका थिए । वि.सं. २०६२ सालमा उनी त्यहीँ विद्यालयको अनेरास्ववियु ईकाइ कमिटी अध्यक्ष बने ।

त्यस पछि वि.सं. २०६४/०६५ मा उनी अनेरास्ववियुको निर्वाचन क्षेत्र २ कमिटी उपाध्यक्ष हुदै अध्यक्षसम्म भएका थिए ।
वि.सं. २०६६ सालमा सदस्य बनेर उनले अनेरास्ववियुको जिल्लामा कमिटीमा प्रवेश पाए । त्यस पछि सचिवालय सदस्य हुदै वि.सं. २०७० सालमा सिंह उपाध्यक्ष बनेका थिए ।

उनी उपाध्यक्ष रहेकै बेला वि.सं. २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । र, अनेरास्ववियुको राजनीति गरिरहेका सिंहले एमालेको तर्फबाट बेदकोट नगरपालका–२ मा वडाध्यक्षको टिकट पाए ।

यो पनिः लेखराजलाई ‘साक्षी’ राखेर पातलले भने–‘चुनाव हार्दैमा बाहिर जान्न, एमालेमै बस्छुँ’

त्यहाँ उनी माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै वडाध्यक्षमा विजयी भए । त्यति बेला सिंहको उमेर २६ वर्षको थियो । सानै उमेरमा अत्याधिक मत ल्याएर वडाध्यक्षमा जिते पछि उनी एकाएक चर्चामा आए ।

वडाअध्यक्ष सिंहले कांग्रेसका तारादत्त जोशी र माओवादीका देशराज चौधरी भन्दा दोब्बर मत ल्याएका थिए । अध्यक्षमा सिंह ६८२ मत पाएका थिए भने जोशी र चौधरीले समान २९८ मत पाएका थिए ।

यो पनिः एमाले कञ्चनपुरमा पूर्वमाओवादी र दश बुँदे पक्षधरको बिजोग

बेदकोट नगरपालिकामा मेयर र उपमेयर पनि नेकपा एमालेले जित्दा ‘प्रष्टवक्ता’ सिंहले नगरपालिकाको प्रवक्ताको जिम्मेवारी पनि पाए ।

विद्यार्थी राजनीति गर्दागर्दै सानै उमेरमा वडाध्यक्ष जितेका उनै सिंह अहिले एमाले कञ्चनपुरको ८ औँ जिल्ला अधिवेशनबाट सदस्यमा सर्वाधिक मत सहित विजयी भएर पार्टीको मूलधारको राजनीतिमा पनि उदाएका छन् ।

जननेता मदन भण्डारीले उत्पादन गरेकोे जनताकोे बहुदलीय जनवाद (जबज) बाट प्रभावित भएर एमाले पार्टीमा आबद्ध भएको सिंह बताउँछन् ।

‘एमालेको सिद्धान्त, विचार मन प-यो, त्यहीँबाट प्रभावित भएर राजनीति गर्न थालेको हो,’ उनले दैनिक सञ्चारसंग भने, ‘जननेता स्व.मदन भण्डारी मेरा लागि पे्ररणा स्रोत हुन । उहाँले अघि सारेका विचारबाट प्रभावित भएर विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेको थिए ।’

यो पनिः मेयर असोक चन्द भन्छन– ‘चुनाव जित्नेले संसारै जिते ठान्नु भएन’

परिवारको राजनीतिक पृष्ठभूमि नभए पनि नरेशलाई घरपरिवारको पूर्ण सहयोग थियो । अनेरास्ववियुमा संगठन विस्तारताका दिनहरु अझै पनि उनको सम्झनामा ताजै छन् ।

‘संगठन विस्तारमा गर्दा धेरै दुखकष्ट सहनु प-थ्यो । साइकलमा जिल्लाभर दौडिन्थ्यौँ,’ उनले भने, ‘कति दिन त भोक भोक पनि हिडेका छौँ ।’

वि.सं. २०७२ सालको स्ववियु चुनावमा उनी आक्रमणमा पनि परे । चुनावमा सिंह बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा खटिएका थिए । त्यहीँ बेला उनीमाथी नेपाल विद्यार्थी संघका कार्यकर्ताले आक्रमण गरेका थिए ।

‘अनेरास्ववियु स्ववियु जित्दै थियो । त्यति नेवि संघका कार्यकर्ताले हुलदंगा गरे,’ स्ववियु चुनावका बेला भएको झडप सम्झदै सिंह भन्छन, ‘म माथी सांघातिक आक्रमण नै गरेका भएको थियो । त्यो बेला झण्डैले ज्यान बचेको थियो ।’

पार्टीमा युवाको मुद्दा शसक्त ढङगले उठाउने सिंह बताउँछन् । ‘अहिले कमिटीमा ३० प्रतिशत भन्दा बढी युवाको सहभागीता छ,’ उनले भने, ‘राजनीतिमा युवाको आवश्यकता छ, हामी युवाको मुद्दा सशक्त रुपमा मुद्दा उठान गर्नेछौँ ।’

यो पनिः एमाले कञ्चनपुरः सदस्यमा जिते यी पाँच युवा नेता

युवावर्गलाई राजनीतिक नेतृत्वमा ल्याएर समयसापेक्ष हिसाबले पार्टी संगठन मजबुद बनाउदै राष्ट्रलाई विकासको गति दिन सकिने उनको भनाई छ । ‘युवाले सहि र छिटो निर्णय दिन सक्छन् । जनताको चाहना, इच्छाआँकाक्षालाई मध्यनजर गर्दै संगठनलाई चलायमान गराउदै जानु पर्छ,’ उनले भने, ‘आजको आवश्यकता नै यही हो ।’

पार्टीलाई गुटरहित एकताबद्ध बनाएर लैजाने सिंह बताउँछन् । ‘सबैको मनोभावनाको कदर गर्दै पार्टीलाई एकढिक्का बनाउनु छ,’ उनले भने, ‘त्यसो भयो भने मात्रै निर्वाचन जित्न सकिन्छ । यसकै लागि पहल रहने छ ।’

ताजा समाचार