पीएम कप क्रिकेटः २ रनले पुलिससंग चुक्यो सुदूरपश्चिम

Share post:

काठमाडौं । प्रधानमन्त्री कप टी–२० पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबले रोमाञ्चक जित निकालेको छ ।

सोमबार मूलपानी मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशविरूद्ध पुलिसले २ रनको रोमाञ्चक जित हात पारेको हो ।

सुरुवाती ब्याटिङ गरेको पुलिसले २० ओभरमा ९३ रन जोडेको थियो । ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो ।

पुलिसका लागि आरिफ शेख र करण केसीले उत्कृष्ट बलिङ गरे । पुलिसलाई जित दिलाउन आरिफले ४ ओभरमा ९ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए ।

यस्तै यसै सिजनदेखि पुलिसबाट खेलेका करण केसीले ४ ओभरमा ८ रन खर्चेर १ विकेट लिए ।

सुदूरपश्चिमका गजेन्द्र बोहराले सर्वाधिक २७, नारायण जोशीले २२ तथा खडक बोहराले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमलाई जितका लागि अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा करणले जम्मा ३ रन मात्र खर्चेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरी र पवन सर्राफले पनि १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो ।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक २१ रन बनाउँदा अर्का ओपनर पवन सर्राफले २० रन जोडे । यस्तै आरिफ शेखले १० रन बनाए । गुल्शन झा ५ रनमा अविजित रहे ।

सुदूरपश्चिमका नारायण जोशी र आदित्य महाताले ३–३ तथा शेर मल्लले २ विकेट लिए । आदित्यले ३ ओभरमा ९ र नारायणले ४ ओभरमा १८ रन खर्चेका थिए ।

 

ताजा समाचार