पब्जीबाट चिनजानपछि ‘लिभिङ टुगेदर’ मा बसेका युवा–युवती कोठाभित्र मृत भेटिए

Share post:

काठमाडौ । काठमाडौं महानगरपालिका–६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठाभित्र गएराती युवा–युवती मृत फेला परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत फेला परेका हुन ।

प्रहरीका अनुसार उनीहरू भिडिओ गेम पब्जीबाट नजिकिएका थिए । उनीहरू केही दिनदेखि ‘लिभिङ टुगेदर’ बसेका थिए ।
वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार उनीहरू सँगै बस्न थालेको २०–२२ दिन मात्रै भएको थियो । उनीहरूबीच अनलाइन भिडिओ गेम पब्जीबाट चिनजान भएको थियो।

घटनामा कुनै तेस्रो व्यक्तिको संलग्नता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ । गएराति अनिस र युसिना दुबै मासु र चिउरा खाएर सुतेका थिए ।

‘उनीहरू धेरैजसो पब्जी खेल्ने गर्थे। खेल खेल्दा हानहान, मारमार भन्ने जस्तो शब्द बोल्थे । तर राति भने अरूबेलाको जस्तो आवाज थिएन । झगडा गरेकोजस्तो आवाज आएको रहेछ,’ प्रहरी वरिष्ठ उपरीक्षक गिरीले भने, ‘१२ बजेतिर आमाले हल्ला सुनेपछि बोलाउन गएकी रहेछन् ।’

आमाले बोलाउँदा उनीहरूले ढोका खोलेका थिएनन् । ढोका नखोलेपछि बहिनीको छोरालाई बोलाएर ढोका फोड्न लगाएका थिए । कोठाभित्र हेर्दा युसिना बेडमा मृत अवस्थामा फेला परेकी थिइन् ।

त्यस्तै छेउमै अनिस पनि मृत अवस्थामा फेला परेका थिए । घटनास्थलबाट धारिलो हतियार पनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।

‘त्यहाँ रगतैरगत थियो । त्यसपछि प्रहरीलाई खबर भयो। प्रहरी पुग्दा अनिशको शरिर तातै थियो । अस्पताल पु¥याउँदा मृत घोषणा भयो,’ उनले भने ।

अनिशलाई चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा लगिएको थियो । यसमा युवकले पहिले धारिलो हतियार प्रयोग गरी युवतीको हत्या गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

यद्यपी यसको पुष्ट्याइ पोष्टमार्टम रिपोर्टले गर्ने उनले बताए । घटनाबारे थप अनुसन्धान हुँदैछ ।

ताजा समाचार