भूपेन्द्र हत्या प्रकरणः योजनाकार नविन रावल भारत भागे, यसरी खोज्दैछ प्रहरी

Share post:

धनगढी । कैलालीका युवा भूपेन्द्र बडुवाल हत्या प्रकरणमा प्रहरीले हालसम्म ३० जना बढीसँग घटना विवरण लिएको छ भने १ दर्जन बढीसँग बयान लिएको छ ।

कात्तिक २३ गते भएको हत्या घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले हालसम्म २० जना बढी व्यक्तिसँग बयान लिएको छ तर हालसम्म प्रहरी अनुसन्धान चुरोमा भने पुग्न बाँकी नै छ ।

कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले भने, ‘अनुसन्धान जारी छ । हालसम्म ३० जना बढीसँग घटना विवरण लिइसकेका छौं भने अभियुक्तहरूसँग बयान लिएका छौं । हामी अनुसन्धानको अन्तिम चरणमा छौं । १/२ दिनमा घटनालाई सार्वजनिक गर्ने तयारीमा छौं ।’

‘कल डिटेल’ र घटना प्रकृतिको आधारमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ । लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय बडुवालको गत कात्तिक २३ गते राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटलनजिकै हत्या भएको थियो ।

प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरेको छ । मृतकका आफन्तले शुरूमा १६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । हाल २० जनाविरुद्ध जाहेरी परेको छ । प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरेको छ भने बाँकी फरार छन् ।

केही दिनअघि प्रहरीले थप २ जनालाई पक्राउ गरेको थियो । आरोपीलाई भाग्न सघाएको आरोपमा सविनजंग शाह र लोकेन्द्र कुँवर पक्राउ परेका थिए । उनीहरूलाई बौनियाँ र बर्दियाबाट पक्राउ गरिेएको हो ।

उनीहरूलाई पनि सहयोग गरेको तथा कल डिटेलको आधारमा धनगढीका विश्वास शाह, बनबेहडाका बहादुर शाह लगायतलाई पनि सोधपुछको क्रममा प्रहरीले पक्राउ गरेको थियो । कागज गरी तिनीहरूलाई छाडिएको छ । विश्वास शाह नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य हुन् ।

प्रहरीले घटना घटाएको केही दिनमै जिल्लाको टीकापुरका आर्यन देवकोटा, महेश रावल, कपिल श्रेष्ठ, रोहित आले, सोहन शाह, निशान मल्ल, मदन शाही, धिरज शाही, विकास खड्का, प्रवीण रिमाललाई पक्राउ गरेको थियो ।

मुख्य योजनाकार भनिएका लम्कीचुहा नगरपालिका–३ चिसापानीका नवीन रावल, रोशन शाही, हेमन्त शाही, अनुज शाही, हिमाल शाही अझै फरार छन् । उनीहरू भारत भागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

तिनीहरूलाई भगाएको अभियोगमा सविनजंग शाह र लोकेन्द्र कुँवरलाई पक्राउ गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रहरी अधिकारीले भने, ‘घटनाको कारण खुलिसकेको छ । घटनाको फिगर नै आइसकेको छ । घटनाका मुख्य संलग्नहरू पनि समातिएका छन् तर योजनाकार भनिएका नवीन रावल लगायतलाई भारत भगाइएको छ । हामी भारतीय प्रहरीसँगको सहकार्यमा अनुसन्धानमा छौं । पकिस्तानमा लुकेका अपराधीलाई त हामीले पक्रेका छौं, यी त भारतमा लुकेका छन् । छाड्ने कुरै छैन ।’

ती प्रहरी अधिकारीका अनुसार नवीन रावल लगायतलाई कात्तिक २५ गते राति सविनजंग शाह र लोकेन्द्र कुँवरले गाडीको व्यवस्था गरी कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित चुरेफेदी क्षेत्रबाट धनगढीको स्याउले जुगेडा हुँदै भारत भगाइएको छ ।

कैलालीको लम्की, टीकापुर क्षेत्रमा २ आपराधिक समूह सक्रिय रहेको प्रहरीले जनाएको छ । ती समूहमा डेढ सय बढी युवाहरू रहेका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

ताजा समाचार