उ बेला जसले हरायो, अहिले त्यहीले सभापति जितायो…

Share post:

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा नेता रमेश लेखक निकट पदम बोगटी निर्वाचित भएका छन् ।
भर्खरै सम्पन्न मतगणना अनुसार उनले ८०६ मत प्राप्त गरेका छन् ।

उनका निकटत प्रतिद्धन्द्धी संविधानसभा सदस्य नेता एनपी साउद निकट बहादुर सिंह थापाले ७१५ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा साउद प्यानलका दुवै उम्मेदवार विजयी भएका छन् ।

साउद प्यानलका मीनबहादुर सिंह ७८६ र हरिशचन्द्र राना ७६३ मत सहित विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्धन्द्धी लेखक प्यानलका शंकर चन्द ७४० र दिवाकर पाण्डेयले ७०४ मत प्राप्त गरे ।

सचिवमा पनि साउद निकट उम्मेदवार विजयी भएका छन् । सचिवमा हेमराज ओझा र भीमराज भट्ट क्रमशः ७३० र ७२९ मत ल्याएर विजयी भए ।

उनीहरुका निकटत प्रतिद्धन्द्धी लेखक प्यानलका सिद्धराज भट्ट र जनकसिंह धामीले क्रमशः ७१३ र ६८० मत प्राप्त गरे । यस्तै सचिव पदका स्वतन्त्र उम्मेदवार तर्कराज भट्टले १३० ल्याए ।

सहसचिवमा लेखक र साउदका एक एक जना विजयी भएका छन् । साउद प्यानलका सहसचिवका उम्मेदवार नाफुसिंह साउद र लेखक प्यानलका पुष्कल चौधरीले ६७४ मत ल्याएर विजयी भए ।

लेखक प्यानलका सहसचिव पदका अर्का उम्मेदवार कविराज भट्टले ६४९ र साउद प्यानलका हरीप्रसाद अधिकराीले ६१७ मत ल्याए । सहसचिवकै स्वतन्त्र उम्मेदवार कलकबहादुर सिंहले २९७ मत प्राप्त गरे ।

कांग्रेस संस्थापन निकट नेता लेखक र साउद गृहजिल्ला कञ्चनपुरमा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।
सभापतिमा विजयी बोगटी यसअघि एनपी साउँद निकट थिए । जिल्ला अधिवेशनमा रमेश लेखकले आफ्नो समूहमा ल्याउँदै बोगटीलाई सभापतिको रुपमा अगाडि सारेका थिए ।

बोगटी नेपाली कांग्रेस कञ्चनपुरका पूर्व सचिव पनि हुन । उनले १५ वर्ष सचिवको जिम्मेवारी सम्हालेका थिए । १३ औँ महाधिवेशनमा एनपी प्यानलबाट सभापति लडेका उनी पराजित भएका थिए । लेखक प्यानलका निवर्तमान सभापति हरिप्रसाद बोहरासंग उनी पराजित भएका थिए ।

१४ औँ महाधिवेशनमा बोहरा कञ्चनपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भए पछि उनी सभापतिको दौडबाट बाहिरिए । साउद समूहमा रहेका बोगटी यही मौकामा लेखक नजिक भए ।

र, उनको सभापति बन्ने ढोका खुल्यो । १३ औँ महाधिवेशनमा जुन समूहबाट बोगटी हारेका थिए त्यही समूहमा लागेर १४ औँ महाधिवेशनमा उनी सभापति बन्न सफल भएका छन् ।

वि.सं.२०४८ सालमा एनपी साउद नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा बोगटीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । साउद खेलकुदमन्त्री हुँदा बोगटीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) को केन्द्रीय सदस्य बनाएका थिए ।

बोगटी राजनीतिमा निष्ठावान नेताका रुपमा चिनिन्छन । स्थानीय तह चुनावमा भीमदत्त नगरपालिकाको मेयर पदमा उठेका बोगटी एमालेका सुरेन्द्र बिष्टसँग जम्मा १ सय ३५ मतले हारेका थिए ।

वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनदेखि नेविसंघमार्फत नेपाली काँग्रेसमा संगठित बोगटी त्रिचन्द्र कलेजको स्ववियू सदस्य भइसकेका छन् ।

ताजा समाचार