Monday, December 6, 2021

भूपेन्द्र हत्याको दुई साताः अझै खुलेन ‘रहस्य’, के गर्दैछ सीआइबी ?

महेन्द्रनगर । कैलालीका २२ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या भएको दुई साता पुरा भएको छ । घटना भएको दुई साता बितिसक्दा पनि प्रहरीले अझै हत्याको स्पष्ट कारण पत्ता लगाउन सकेको छैन ।

धारिलो हतियार प्रयोग गरेर भूपेन्द्रको हत्या भएको घटना के कति कारणले भएको भन्ने ‘रहस्य गर्भ’ मै छ । घटनाको अनुसन्धान भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले अझै हत्याको कारण खुल्न नसकेको बताए ।

‘अहिले पनि हामी अनुसन्धानकै क्रममा छौँ, घटनाको के कति कारणले भएको हो अझै स्पष्ट हुन सकेको छैन,’ एसपी अधिकारीले भने, ‘पक्राउ परेकाहरुको बयान लिने र कागज गर्ने काम भइरहेको छ ।’

गत २३ कात्तिक राति लम्कीचुहा नगरपालिका–१ लम्की बजारका भूपेन्द्रको टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर एक समूहले हत्या गरेको थियो । घटनाका भएको एक साता पछि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली आएको थियो ।

एक सातादेखि कैलालीमा बसेर सीआइबीले पनि घटनाको अनुसन्धानमा सघाइरहेको छ । तर भूपेन्द्र हत्याको रहस्य अझै खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय कैलालीको अनुसन्धान टीमलाई सीआइबीको टोलीले प्रावधिक पाटोमा सघाइरहेको छ । ‘सीआइबीले प्रावधिक पाटोमा सहयोग गरिरहेको छ । सुक्ष्म रुपले घटनाको अनुसन्धान जारीे छ,’ एसपी अधिकारीले भने, ‘फरारको पनि खोजी भइरहेको छ ।’

भूपेन्द्रको हत्या आरोपमा प्रहरीले १० जना युवकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरमा भूपेन्द्रका परिवारले चिसापानीका नविन रावलसहित १६ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

ती आरोपीमध्ये घटनाका ‘योजनाकार’ नविन रावलसहित ६ जना अझै फरार छन् । केही दिन अगाडि फरार आरोपी लम्कीचुहा नगरपालिका–३ चिसापानीका १९ वर्षीय मदन शाहीलाई सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि हत्या आरोपमा प्रहरीले लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह, २१ वर्षीय रोहित आले र विकास खड्कालाई पक्राउ गरेको थियो ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय