Monday, December 6, 2021

देउडालाई अंग्रेजीमा उल्था गर्ने जोशी रहेनन्

बझाङ ।
काल बैरी कैल प आउँदो, लाग्या कै छ मार्न
यो ज्यादै निष्ठुरी हुन्छ, को सक्तछ टार्न
(क्रुएल डेथ इज् रेडी टु किल, वि क्यान लिभ बाइ द लक
इट इज् भेरी डिफिकल्ट, टु अभोइड डेथ्स् शक)

‘देउडा इन इंग्लिस’ किताबमा लेखिएका माथिका देउडाका हरफहरू कुनै दिन आफ्नै जीवनमा लागू हुन्छन् भन्ने लेखक धनराज जोशीले सायदै सोचेका थिए ।

तर काल बैरीको झड्का टार्न सक्ने सामर्थय कोसँग छ र ? सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकसंस्कृति देउडालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन जीवन समर्पण गरेका जोशीले पनि यही नियति भोग्नुप-यो ।

बझाङमा बेमौसमी वर्षासँगै आएको प्रलयकारी विपद्ले देउडाप्रेमी यी अभियन्तालाई पनि छोडेन । कात्तिक २ गते साँझ अविरल झरीपछि घरनजिकै आएको भलको निकास खोल्न जाँदा पहिरोमा परेर उनले ज्यान गुमाउनुप-यो ।

एक्कासि उनको आँगन नै पहिरोले लगेपछि जोशीको शव भोलिपल्ट बिहानमात्रै २ सय मिटर तल भेटिएको थियो ।
बझाङको खप्तडछान्ना गाउँपालिका–६ मा जन्मिएर बाजुराका विभिन्न विद्यालयमा ३० वर्षसम्म शिक्षण पेसा गरेका जोशी २०६६ मा सेवा निवृत्त भएपछि देउडाको अन्तर्राष्ट्रियकरण गर्न जुटेका थिए ।

लोकसंस्कृति, कला, पर्यटन र पश्चिम नेपालको असली पहिचान देउडामा रहेको तर यसको प्रचारप्रचार अन्तर्राष्ट्रिय क्षेत्रमा नभएकाले यो क्षेत्र पछाडि परेको भन्दै उनले देउडा गीतलाई अंग्रेजीमा उल्था गरेर ‘देउडा इन इंग्लिस’ पुस्तक प्रकाशन गरेका थिए ।

दुईवटा संस्करणमा छापिएको यो पुस्तक अंग्रेजीमा प्रकाशित देउडाको हालसम्मकै पहिलो पुस्तक हो । यस पुस्तकमा उनले मायाप्रेम, जीवन दर्शन, राजनीति, धर्मदेखि लिएर दैनिक जीवन व्यवहारलाई बिम्ब र प्रतीक बनाएर गाइने देउडाहरू संकलन र रचना गरी अंग्रेजीमा लेखेका छन् ।

‘नेपाली नबुझ्नेलाई देउडा बुझाएर पश्चिम नेपाललाई विश्व जगत्मा चिनाउने उहाँको सपना थियो,’ खप्तडछान्ना गाउँपालिका लामातोलाका कवि सुरेश थापाले भने, ‘देउडालाई अंग्रेजीमा लेख्ने उहाँको जमर्को यसैको प्रतिफल थियो ।’

युवापुस्ताको देउडाप्रतिको घट्दो आकर्षण बढाउन र सरकारी विद्यालयका विद्यार्थीहरूको अंग्रेजी भाषा सुधार गर्ने उद्देश्यसमेत राखेर प्रकाशन भएको यो पुस्तकमा उनले सामान्य साक्षर व्यक्तिले पनि बुझ्ने गरी अंग्रेजीको नेपाली उच्चारण, नेपालीको अंग्रेजी उच्चारण तथा शब्दार्थसमेत लेखेका छन् ।

जोशीले देउडा गीत रचना र संकलन गर्ने, अंग्रेजीमा उल्था गर्ने मात्रै नभएर जिल्लाका विभिन्न स्कुलमा गएर विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्नुका साथै विपन्न विद्यार्थीहरूले पनि अंग्रेजी पढ्ने अवसर पाउनुपर्छ भन्ने अभियान चलाउँदै आएका थिए ।

‘गरिबका छोराछोरीले पनि संसार बुझ्नका लागि अंग्रेजी भाषाको ज्ञान हासिल गर्न पाउनुपर्छ भन्ने उद्देश्यले उहाँले विभिन्न सहयोग गर्दै आउनुभएको थियो,’ लामो समय बझाङ र बाजुरामा अंग्रेजी शिक्षकका रूपमा कार्यरत भानुभक्त जोशीले भने । धनराज जोशीले आफैंले तीनमहिने अंग्रेजी भाषा शिक्षण कोर्स नै तयार गरेर निःशुल्क अंग्रेजी सिकाउने तयारी गरेको उनले बताए ।

नाता हो दुई दिनको नाटक, नाश भैजान्या चोला घमण्डी भै नदेखिनु, मानव हुनुहोला । जस्ता मानवतावादी दर्शन बोकेका गीतहरूलाई अंग्रेजीमा लेखेका जोशीले अन्य गीत जस्तै देउडालाई पनि अंग्रेजीमा गाउन सकिन्छ भन्ने प्रमाणित गरेका थिए ।

देउडाका अन्यानुप्रासलाई अंग्रेजीमा पनि हुबहु उल्था गरेका जोशी पछिल्लो समय जिल्लाभरका विद्यालयहरूको भ्रमण गर्दै अंग्रेजी भाषा र देउडा गीतको प्रचारप्रचारमा जुटेका थिए ।

‘अंग्रेजीमा देउडा भन्नेबित्तिकै धेरै मानिसहरूले अनौठो मानेका थिए । यो कसरी सम्भव होला भन्ने बहस नै चलेको थियो,’ सिर्जनशील कलाप्रेमीहरूको सञ्जालका निर्देशक एवं कैलाली बहुमुखी क्याम्पसका पूर्वप्राध्यापक हरिचन्द्र कमलीले जोशीको पुस्तक विमोचनको कार्यक्रमको स्मरण गर्दै भने, ‘पुस्तक हेरेपछि सबै चकित भयौं । देउडालाई उस्तै भावार्थ दिने गरी अंग्रेजीमा अनुवाद गर्नुभएको रहेछ । उहाँको सिर्जना वास्तवमै अद्भुत थियो ।’

‘देउडालाई अंग्रेजीमा भन्न सकिएला भनेर हामीले सोचेकै थिएनौं,’ सत्यवादी उच्च माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक लक्ष्मणप्रसाद उपाध्यायले भने, ‘जोशीले त्यो सम्भव बनाइदिनुभयो । देउडा संस्कृतिमा उहाँको योगदान साँच्चिकै स्मरणीय छ ।’

देउडा सुदूरपश्चिमको लोकसंस्कृति हो, यसलाई अंग्रेजीमा गाएर विदेशीमाझ यसको महत्त्व र नेपालीपन चिनाउन जरुरी छ भनेर अभियान चलाउने जोशी नै पहिलो व्यक्ति भएको उनले बताए ।

देउडालाई अन्तर्राष्ट्रियकरण गर्ने अभियानमा जुटेका धनराज जोशीले १८ वर्षको उमेरमा मात्रै स्कुल देखेका थिए । आठ दाजुभाइमध्ये सातौं सन्तानका रूपमा २००४ मा जन्मिएका जोशीले भारतमा चौकीदारी गर्ने क्रममा अंग्रेजीको महत्त्व बुझेपछि विद्यालय भर्ना भएका थिए । आर्थिक अवस्था कमजोर रहेका जोशीले सदरमुकाम चैनपुरमा रहेकी दिदीको आश्रयमा पढाइलाई अगाडि बढाएका थिए ।

‘स्कुलमा हरेक वर्ष हिउँदको दुई महिना स्कुल बिदा हुन्थ्यो । बिदाका बेला म भारतमा मजदुरी गर्न जान्थें । त्यही पैसाले वर्षभरिको कापीकलम जुटाउँथें,’ उनले पुस्तकको भूमिकामा आफूले अध्ययन गर्दा पाएको दुःखको वर्णन गर्दै लेखेका छन्– ‘कापी किन्न पैसाको अभाव हुने भएकाले बिहान–साँझ सेती नदीको किनारमा जान्थें र त्यहाँका ढुंगामा लेखेर अंग्रेजीका शब्द र वाक्यहरू कण्ठ गर्थें ।’

‘उहाँ स्कुल पढ्दादेखि नै देउडालाई उस्तै भाव आउने गरी अंग्रेजीमा अनुवाद गरेर सुनाउनु हुन्थ्यो,’ जोशीका सहपाठीसमेत रहेका स्विडेनको स्टकहोम युनिभर्सिटीका प्राध्यापक कटक मल्लले भने, ‘अंग्रेजीप्रतिको उहाँको लगाब यतिसम्म थियो कि त्यो बेला अरू विषयको परीक्षा पनि अंग्रेजी माध्यमबाटै दिनुहुन्थ्यो ।’ (कान्तिपुर)

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय