Monday, December 6, 2021

‘बडुवाल परिवारका सहारा’ भुपेन्द्रः अमेरिका जाने तयारीमा थिए, सामुहिक आक्रमणमा मारिए

महेन्द्रनगर ।
कैलाली लम्कीचुहा नगरपालिका–१ का डम्बर बडुवालको परिवार छोराको वियोगले विक्षिप्त छ । परिवारको सहारा २२ वर्षीय छोरा भुपेन्द्रलाई अल्पायुमा गुमाउदा उनीहरु सम्हालिन सकेका छैनन् ।

आमा अर्धचेत अवस्थामा छिन् । उनको आँखाबाट बलिन्द्र धारा बगिरहेका छन् । उनी एकै छिन होसमा आउछिन् त एकै छिनमा बेहोस हुन्छिन् ।

छरछिमेकी र इष्टमित्रले भुपेन्द्रको वियोगमा विक्षिप्त परिवारलाई सम्हाल्ने प्रयास गरिरहेका छन् ।
मंगलबार राती ९ बजेतिर धारिलो हतियार (चक्कु) प्रहार गरेर एक समूहले टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै उनको निर्मम हत्या गरेको थियो । कलिलो उमेरमा भुपेन्द्रलाई गुमाउँदा परिवार शोकमग्न छ ।

मृतक भुपेन्द्र परिवारका एक्ला छोरा थिए । उनको वियोगले बडुवाल परिवारको बुढेसकालको सहारा चुडिएको छ । डम्बरका छोराछोरी गरेर दुई सन्तान छन् । जेठा छोरा भुपेन्द्र थिए ।

लम्कीचुहा नगरपालिका–१ लम्की बजारमा डम्बरको जुत्ता, चप्पल तथा सिमेन्टकोे पसल छ । उनले छोराछोरीलाई काठमाडौँमा पढाइरहेका थिए । काठमाडौँमा भुपेन्द्रको मामाघर पनि छ ।

उनी काठमाडौँमा स्नातक तहको पढाइ गरिरहेका थिए । संगै संगै उनी अमेरिका जाने तयारी पनि गरिरहेका थिए । दशैँ मनाउन केही दिन अगाडि घरतिर आएका थिए ।

घरमा धुमधामसंग दशैँ मनाए पनि । दशैँ मनाएर उनकी बहिनी काठमाडौँ फर्किइन । तर भुपेन्द्रले तिहार पछि काठमाडौँ फर्किने योजना बनाए । र, त्यतैबाट अमेरिका जाने सपना देखेका थिए । अमेरिका जाने उनको सपना भने अधुरै रह्यो ।

‘बाहिर देश जान भुपेन्द्र तयारी गरिरहेका थिए । अमेरिकाका लागि डिभि पनि परेको थियो ।’ लम्कीचुहा नगरपालिकाकी उपमेयर टिका थापाले दैनिक सञ्चारसंग भनिन्, ‘परिवारको आशा भरोसा उनी (भुपेन्द्र) मै थियो । तर कलिलो उमेरमै क्रूरता पूर्वक हत्या भयो ।’

लम्कीचुहा नगरपालिकाकी उपमेयर थापा र मृतक भुपेन्द्र छिमेकी पनि हुन । मंगलबार बेलुका खाना खाएर भुपेन्द्र लम्की बजारबाट केही माथि रहेको घर गए । त्यस पछि घरमा बसिरहेका उनलाई साथी कपिल श्रेष्ठले बाहिर बोलाए ।

र, कपिलले राती भुपेन्द्रलाई टिकापुर लगेर गएका थिए । लम्कीकै कपिल श्रेष्ठ भुपेन्द्रका निकटस्थ साथी थिए ।

‘अछाम रोडतिर भुपेन्द्रको अर्को घर पनि छ । त्यहाँ बसेका उनलाई कपिलले साथीलाई अफ्ठेरो परेको छ भनेर राती लिएर गएका रहेछन् ।’ उपमेयर थापाले भनिन्, ‘त्यहाँ भुपेन्द्रलाई लखेट्दै लखेट्दै पछाडीबाट रड, चक्कु हानेर हत्या गरेको देखिन्छ । मैले जाने अनुसार ज्यान नै लिनु पर्ने ठूलो दुश्मनी केही थिएन ।’

प्रहरीका अनुसार मृतक भुपेन्द्रको बायाँतिर कम्मरको माथिल्लो भाग र छातीमा धारिलो हतियार प्रहार भएको थियो ।
भुपेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भुपेन्द्रलाई घरबाट लैजाने उनका साथी २२ वर्षीय कपिल श्रेष्ठ सहित ८ जना आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले रहेका छन् ।

हत्याको कारण स्पष्ट खुलि नसकेको भए पनि आपसी रिसिबीका कारण भएको प्रारम्भिक अनुमान प्रहरीको छ । ‘स्पष्ट कारण अझै खुल्न सकेको छैन । रिसिबीका कारण घटना घटेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले भने, ‘घटनाको विस्तृत रुपमा अनुसन्धान भइरहेको छ ।’

 

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय