Monday, December 6, 2021

बाढीले पुरानै अवस्थामा फर्कायो खल्ला–मसेट्टी

महेन्द्रनगर ।
महाकाली नदी आफ्नै बेगमा बगिरहेको छ । नदीको तीरै तीर चुरे फेदीका खल्ला, मसेट्टी र टुँडिखेल जोड्ने उबडखाबड बाटो छ ।

त्यही बाटो हिँड्दै गरेकी भेटिइन, टुडिँखेलकी ७० वर्षीया वृद्धा नारा ठगुन्ना र उजली बिष्ट । हातमा लौरो लिएर उबडखाबड बाटो छितोल्दै उनीहरु घरसम्म जादै थिए । उनीहरुको घर भीमदत्त नगरपालिका–९ टुँडिखेलमा छ ।

उजलीले पिठ्युमा झोला पनि बोकेकी छिन् । गर्मीले असिनपसिन देखिने ती वृद्धा ठाउँ ठाउँमा रोकिदै/हिँड्दै गरिरहेका थिए । उनीहरु स्थानीय ब्रह्मदेव बजारमा अस्पतालमा आएका रहेछन् ।

अस्पतालमा स्वास्थ्य चेकजाँच र औषधि लिएर घर फर्किरहेका थिए । ७० वर्षीया वृद्धा नाराको बेला बेलामा हात, खुट्टा दुख्ने समस्या भइरहन्छ । र, त्यसकै लागि उनी हप्ताको एक दिन औषधि लिन ब्रह्मदेव बजार आउजाउ गरिरहन्छिन् । यसपालीको उनीहरुको ब्रह्मदेवसम्मको यात्रा भने निकै कष्टकर बनेको छ ।

कार्तिक पहिलो साता आएको महाकाली नदीको बाढीले भीमदत्त नगरपालिका–९ खल्ला, मसेट्टी र टुँडिखेल जोड्ने सडकमा बगाए पछि त्यहाँका बासिन्दा कष्टकर जीवन बिताउन बाध्य छन् ।

‘गाउँमा केही सुविधा छैन । त्यसैले हामीले केही गर्न पनि के त ब्रह्मदेव झर्नु पर्छ । के त पारी भारततिर जानु पर्छ ।’ नारा ठगुन्नाले भनिन्, ‘अटोमा जान्थेउ तर बाढीले बाटो बिग्रिए पछि १/२ घण्टा हिँडेर बजार पुग्नु परेको छ ।’

सुगम जिल्लाका दुर्गमबस्ती खल्ला, मसेट्टी र टुँडिखेलको भौगोलिक बनावट ठ्याक्कै पहाडी भेगको जस्तै छ । त्यहाँका करिब ४ सय परिवारको बसोबास छ ।

बस्ती बसेको दशक पछि हालसालै बस्तीमा बिजुली र टेलिफोन सेवा पुगेको थियो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पछि यो क्षेत्रले विकासमा फड्को मार्दैै गएको थियो ।

यद्यपी, चुरे पर्वत शृंखलामा पर्ने बस्ती बाढीको चपेटामा परे । खल्ला, मसेट्टी र टुँडिखेललाई बाढीले पुरानै अवस्थामा फर्काएको छ ।

बाढीले बस्तीसंगको सडक सञ्जाल बिच्छेद भएको छ । महाकाली तीरै तीरै गाडिएका बिजुलीका पोलहरु टुटेका छन् ।

र, दुई साता भन्दा बढिदेखि बस्ती अन्धकारमय छ । यस्तै बिजुली नहुँदा त्यहाँको टेलिफोन सेवा पनि बन्द भएको छ । स्थानीय भारतीय सीमको प्रयोग गरेर सम्पर्क गरिरहेका छन् ।

‘बाटोको बेहाल छ । बिजुली नहुँदा चक्की चल्न सकेका छैनन् । रासन ल्याउन, पिसानी कुटानी गर्न काँधमा बोकेर ब्रह्मदेव झर्नु पर्छ ।’ उजली बिष्टले भनिन्, ‘गाउँमा केही उब्जाउ हुदैन । किनेरै खानु पर्छ । सामान किनमेल गर्न १÷२ घण्टा हिँड्नु पर्ने बाध्यता छ ।’

बिहान÷बेलुकाको रासन जोहो गर्नै समस्या भएको उनको गुनासो छ । सडक नहुँदा बिरामीलाई बोकेर लैजानु पर्ने बाध्यता सृजना भएको स्थानीय कृष्णबहादुर बिक बताउँछन् ।

स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिहरुले बस्तीको निरीक्षण गरे पनि अहिलेसम्म समस्या समाधानमा चासो नदेखाएको उनको भनाइ छ ।

‘विद्यार्थीहरुलाई विद्यालय जान, किनमेल गर्न बजार आउजाउ गर्न, बिरामी अस्पताल पु¥याउन सडक नहुँदा निकै सास्ती भएको छ ।’ उनले भने, ‘नेताहरुले आश्वासन मात्रै दिएका छन् । तर अहिलेसम्म हाम्रो समस्या समाधान हुन सकेको छैन ।’

बिजुली नहुँदा ‘अन्धकार’
विद्युत नहुँदा खल्ला, मसेट्टी र टुँडिखेलका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । वि.सं. २०६२/०६३ साल तिर यी बस्ती बसेका थिए ।

बस्ती स्थापनाको दशक पछि स्थानीयहरुले गत वर्ष बिजुलीको सुविधा पाएका थिए । बिजुली जडान पछि स्थानीयले यस पटकको तिहारमा झिलिमिलि हुने आशा लिएका थिए । बाढीले बिजुलीका पोल टुटाए पछि तिहारको मुखमै पुरै गाउँ अन्धकारमय भएका छन् ।

‘अहिलेसम्म बिजुली पाएका थिएनौँ । यसपाली बिजुली आएकाले तिहारमा गाउँ झिलिमिलि हुने सोचेका थियौँ ।’ स्थानीय अमर बहादुर रोकाया मगरले भने, ‘बाढीले पोल टुटाएर बिजुली नआउँदा अन्धकारमा बस्न बाध्यछौँ । यस पालीको दीपावली पनि अन्धकारमै बित्ने भयो ।’

भारतीय सीमको भर
भारतसंग जोडिएको नेपाली सीमावर्ती गाउँ पनि हुन– खल्ला, मसेट्ट र टुँडिखेल । स्थानीय बासिन्दा किनमेलका लागि ब्रह्मदेव बजार र भारततर्फ जाने गर्दछन् ।

बस्ती बसेको दशकसम्म त्यहाँ नेपाली नेटवर्क थिएन । भारतीय सीमको प्रयोग गरेर स्थानीयहरु सम्पर्क गर्ने गरेका थिए ।

बिजुली जडानसंगै नेपाल टेलिकमको टावर बने पछि त्यहाँका बासिन्दाले नेपाली नेटवर्कको सुविधा पाएका थिए । यद्यपी उनीहरुले फेरी भारतीय सीम नै प्रयोग गर्नु पर्ने बाध्यता सृजना भएको छ ।

‘बाढी पछि नेपाली नेटवर्क प्रयोग गर्न पाएका छैनौँ । सञ्चारको सुविधाबाट बञ्चित हुनु परेको छ ।’ स्थानीय मोतीलाल रोकामगरले भने, ‘केही आपत विपत्त प-यो भने पनि खबर गर्न सक्ने अवस्थामा छैनौ ।’

भारतीय सीमको नेटवर्क टिप्ने हुनाले केहीले त्यहीँ सीम प्रयोग गरेर सम्पर्क गर्ने गरेको उनले बताए ।
‘सडक, बिजुली र नेटवर्क पुगेर यहाँको बसाईमा सहजता थपेको थियो ।’, उनी भन्छन्, ‘तर बाढीले सबैमा क्षति गरे पछि हाम्रो हालत पहिलेको जस्तै भएको छ ।’

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय