Monday, December 6, 2021

कहिले बिर्सन नसकिने त्यो त्रासदीपूर्ण १८ घण्टा, भन्छन् : बाँच्ने आशा मारिसकेका थियौं

महेन्द्रनगर । ३५ वर्षीय लक्ष्मण सिंह नायक भीमदत्त नगरपालिका–९ मसेट्टीमा बस्छन् । उनको ४ सदस्यीय सानो परिवार छ ।

महाकाली नदीको छेउमै रहेको सानो झुप्रोमा उनकी श्रीमती शान्ति, ८ वर्षीय छोरा अजयसिंह र ५ वर्षीय छोरा सुरज सिंह बस्छन् ।

उनले यस बर्षदेखि कुखुरा पालन सुरु गरेका थिए । घर नजिकै कुखुरा खोर बनाए । त्यहाँ लक्ष्मणले दुई हजार ब्रोइलर र ४० घरेलु कुखुरा पालेका थिए । त्यहीँ ठाउँमा उनको एउटा गाईबस्तु बाँध्ने गोठ पनि थियो ।

त्यसैले एक महिनादेखि लक्ष्मणको परिवार घरमा खाना खाएर दिनहुँ कुखुरा खोर कुर्न जान्थे । र, राती कुखुरा खोरमै सुत्थे ।

गत सोमबार (१ कार्तिक) मा पनि उनीहरु घरमा खाना खाएर कुखुरा खोर गए । लक्ष्मण, उनकी श्रीमती, छोराहरुसंगै त्यो दिन छिमेकी दीर्घमती खड्का पनि उनीहरुसंगै खोरमा गइन ।

उनीहरु कुखुरा खोरमा जाँदा अलिअलि पानी परिरहेको थियो । खोरको छेउमै रहेको महाकाली नदीमा पनि पानीको बहाब बढेको थियो ।

रात छिपिदै गयो । त्यस पछि कुखुरालाई चारो, पानी दिएर उनीहरु खोरमै सुतिहाले । एकछिन पछि त महाकाली नदी बेजोडले सुस्याउन थाल्यो ।

नदीको सुसाहटले राती करिब साढे १२ बजे लक्ष्मणकी श्रीमतीको निन्ध्रा खुल्यो । उनले बाहिर आएर हेर्दा त महाकाली उर्लेर गाउँतिर सोझी सकेको थियो ।

त्यस पछि उनले सुतेका श्रीमान्, छिमेकी दीर्घमती र छोराछोरीलाई उठाए । र, ज्यान जोगाउन सुरक्षित स्थानको खोजीमा लागे ।

‘हामीले महाकाली गाउँ पस्ला भनेर कहिल्यै सोचेका थिएनौँ । अहिलेसम्म कहिल्यै त्यस्तो भएको पनि थिएन ।’ लक्ष्मणले त्यो रात सम्झिदै दैनिक सञ्चारसंग भने, ‘पछि त एकाएक महाकाली उर्लेर हामीहरुलाई घेरिहाल्यो ।’

लक्ष्मणले उर्लिदो महाकालीमा बिताएका त्रासदीपूर्ण १८ घण्टा कहिल्यै बिर्सिन सक्दैनन् । अहिले पनि उनको मस्तिष्कमा खेल्ने गर्छ– थोरै पनि ढिला भएको भए!

महाकालीले उनलाई घेरेपछि स–साना छोराछोरी, छिमेकी र श्रीमतीलाई जोगाउन उनलाई कठिनाइ हुन थाल्यो । खोरलाई बिचमा पारेर दुवैतिरबाट महाकाली बगिरहेको थियो ।

लक्ष्मण र उनकी श्रीमती बच्चाहरुलाई काखी च्यापेर सुरक्षित स्थानको खोजी गरिरहेका थिए । आकाशबाट पानी थर्किरहेकै थियो । उस्तै गरी महाकालीको भेल पनि गाउँमा बढ्दै थियो ।

उनीहरु बच्चालाई काँधमा राखेर ज्यान जोगाउन किहिले यता, कहिले उता गरिरहेका थिए । ‘महाकालीमा पानी बढिरहेको थियो । हाम्रो कम्मरसम्म पानी पुगेको थियो । बच्चाहरुलाई काँधमा राखेर सुरक्षित स्थान खोज्यौँ तर कही कतै त्यस्तो ठाउँ पाइएन ।’ लक्ष्मणले सुनाउँछन, ‘जान सकिने अवस्था नै थिएन, त्यहीँ नजिकै एउटा ठूलो ढुङगा थियो । त्यसैमा बसेर रात काट्यौँ ।’

मध्यराती बाढीमा फसेका लक्ष्मणले ब्रह्देवमा रहेका दाई र मसेट्टीकै कमल खड्कालाई फोन गरेर घटना बारे जानकारी गराए । मंगलबार बिहान (कार्तिक २ गते) गते यो खबर यत्रतत्र हुँदै छ्यापछ्याप्ती भयो ।

बिहानै उद्धारका लागि जनपद र शसस्त्र प्रहरी पनि मसेट्टीतर्फ गयो । पानी परिरहेको र खोलाहरुमा पानीको बहाब बढेकाले उनीहरु चाडै त्यहाँ पुग्न सकेनन् ।

निकै जोखिमपूर्ण रहेको कालीगाडलाई तरेर उनीहरु मसेट्टी पुगे । तर महाकालीको पानीको चाप उच्च रहेकाले उनीहरुले उद्धार गर्न सकेनन् ।

पछि नेपाली सेनाको हेलिकप्टर टोलीलाई खबर गरिएको थियो । प्रतिकुल मौसमका कारण सेनाको हेलिकप्टर पनि बिहानै सुर्खेतबाट उड्न सकेन । बेलुका ५ बजेतिर मात्रै हेलिकप्टर उद्धारका लागि मसेट्टी पुगेको थियो ।

त्यती बेलासम्म महाकालीमा फसेका लक्ष्मण सहितका ५ जनाले बेहाल भैसकेको थियो । उर्लिदो महाकालीमा ढुङगामा बसेर ज्यान जोगाएका थिए, उनीहरुले । उद्धारमा ढिलाइ भइरहँदा उनीहरुले बाँच्ने आशा गुमाइरहेका थिए ।

‘बिहानसम्म बाँच्ने आशामै थियौँ । पछि त महाकाली बढेर गाउँ पुरै जलमग्न भइसकेको थियो । यताउता जान सकिने अवस्था थिएन । रुखहरुमा बसे टुट्ने डर थियो ।’ लक्ष्मणले भने, ‘ढुङगामै बसेका थियौँ । उद्धारका लागि कोही नआउँदा पछि त बाँच्ने आशा नै मारिसकेका थियौँ ।’

बाढीमा फसेको फोनमा खबर गरे पछि त्यहाँको नेटवर्कले पनि काम गर्न छोड्यो । रातीदेखि उद्धारको पर्खाइमा रहेका लक्ष्मणहरुले ढुङगामा एक घण्टा, दुई घण्टा गर्दै १८ घण्टा बिताए । अन्तः बेलुका ५ बजेतिर सेनाको हेलिकप्टरले उनीहरुको सकुसल उद्धार गरेको थियो ।

‘बाचौला सोचेकै थिएनौँ । सेनाको हेलिकप्टरले हाम्रो ज्यान जोगाएको हो । नभए अहिले महाकालीमा बिलाइसकेका हुन्थ्यौँ १’ दीर्घमती खड्काले दैनिक सञ्चारसंग भनिन्, ‘ढुङगामा बसेर भगवानको नाम जप्दै थियौँ । १८ घण्टा पछि हेलिकप्टरबाट उद्धार गरियो ।’

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय