Monday, December 6, 2021

सीमाका बाढीपीडितको गुनासोः बरु भारतले सहयोग गर्छ, नेपालले फर्केर हेरेन

महेन्द्रनगर ।
बाढीपीडितदोधारा–चाँदनी नगरपालिका–१० कुतियाकबरका बासिन्दा अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । बर्षेनी प्राकृतिक विपत्तिको पीडा खेप्ने कुतियाकबरबासीलाई यसपटक त ठूलो बज्रपात प-यो ।

गाउँ पसेको महाकाली र जोगबुढा नदीले घरबाहिर खेत र घरभित्रको अन्नबाली, लत्ताकपडा, पशुचौपाय सबैमा क्षति गरेको छ ।

मनसुन पछिको भारी वर्षाका कारण कञ्चनपुरको सबैभन्दा प्रभावित बनेको ठाउँ हो, कुतियाकबर । गाउँलाई महाकाली नदी र जोगबुढा नदीले घेरेको छ ।

यो भारतसंग जोडिएको सीमावर्ती नेपाली गाउँ हो । यहाँ करिब ४०० भन्दा मानिसको बसोबास छ ।
उनीहरु सीमामा देशको रक्षक बनेर बसेका छन् ।

बिना हतियार, बिना बर्दी सीमामा बसेर मातृभूमि जोगाइरहेका छन्, उनीहरुले । तर सीमाका पहरेदार कुतियाकबरबासीको पीडामा मलहम लगाउने कोही छैन ।

अहिलेसम्म त्यहाँ न कुनै राजनीतिक दलका नेता पुगेका छन् त जनप्रतिनिधि नै । बाढीमा सर्वस्व गुमाएका उनीहरुले अहिलेसम्म कुनै राहत नै पाएका छैनन् । पाएका छन् केबल आश्वासन मात्रै ।

पीडाको अवस्थामा बरु पराइ मुलुक भारत नै कुतियाकबरबासीका लागि दाता बनेको छ । विपत्तिमा रहेको कुतियाकबरबासीले देशमा सरकार भए/नभएको आभाष गर्न पाएका छैनन् । राज्यले वेवास्ता गरेको उनीहरुको गुनासो छ ।

सीमाबासीको पीडा सरकारले नसुनेको स्थानीय टेकबहादुर सुनार गुनासो गर्छन । ‘हाम्रो पीडा सरकारले कहिल्यै सुनेन । सुगम सुगम ठाउँमा नेताहरु निरीक्षण गर्छन् तर अहिलेसम्म यो ठाउँमा कोही पुगेका छैनन् ।’ उनले दैनिक सञ्चारसंग भने, ‘जनप्रतिनिधि र नेताहरुलाई चुनावको बेला मात्रै यहाँ पनि मानिस बस्छन् भन्ने थाहा हुन्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा आएर आश्वासन मात्रै दिएर गएको उनको भनाई छ । ‘हाम्रो समस्या नै सुन्नु भएन । चर्का भाषण गरेर नेताहरु आश्वासन मात्रै दिन्छन् ।’ उनले भने, ‘तर अहिलेसम्म हाम्रो लागि कसैले केही गरेको छैन । सीमामा मातृभूमिको रक्षा गरेर बसेका हामीलाई जनता जस्तै ठानेका छैनन् ।’

नेपाल सरकार भन्दा भारतले आफूहरुलाई सहयोग गरिरहेको उनी बताउँछन् । ‘भारतका सरदारहरु आएर लत्ताकपडा दिएका छन् । बिहान–बेलुका दुई गाँस खाना खुवाइदैछन् ।’ उनले भने, ‘तर सरकार बेखर छ । हाम्रो समस्या बुझेकै छैन ।’

बाढीको वितण्डा सकिएको करिब एक हप्तासम्म पनि अझै यहाँका बासिन्दा सामान्य अवस्थामा फर्किन नसकेका हुन । बाढीले दिएको पीडा अहिले पनि सेलाएको छैन ।

बाढीले गाउँ पुरै अस्तव्यस्त छ । अहिले उनीहरु भारी मन गरेर बाढीग्रस्त बस्तीलाई बस्न मिल्ने बनाउँदै छन् । कोही बाढीले ल्याएर आएका झारपात, ढुङगामुढा सफा गर्दैछन् त कोही घरभित्र बचेको सामानलाई सफा गर्दैछन् ।

गाउँका अधिकाँस मानिस स्थानीय अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका छन् ।
उनीहरु बिहानदेखि बेलुकासम्म बाढीग्रस्त गाउँमै घर कुर्छन् । बेलुका भए पछि रात काट्न कोही विद्यालयमा छन् । त कोही बाढीग्रस्त गाउँमै रात बिताउने गरेका छन् ।

बाढीले त्यहाँका बासिन्दाको खेतीयोग्य जमीन पुरै बगरमा परिणत गरेको छ । ‘परबल, बेसार खेती गरेर परिवार पालेका थियौँ । बाढीले सबै बगरमा परिणत भएको छ ।’ स्थानीय लालबहादुर खड्काले प्रश्न गर्दै, ‘अब खेती गर्न मिल्ने अवस्थामा नै छैन, के गरेर गुजारा चलाउने !’

कुतियाकरबबासी परबल, बेसार तथा तरकारी खेती गर्ने गरेका थिए । त्यहाँ उत्पादित तरकारी भारत तथा महेन्द्रनगरको बजारमा बिक्री हुने गरेको थियो । तर बाढीले स्थानीय बासिन्दाको कमाइको मुख्य स्रोत नै खोसे पछि त्यहाँका स्थानीय बिचल्ली परेका छन् ।

‘प्रधानमन्त्री ज्यू गाउँको हिलाम्मे बाटोमा नहिडे पनि आकाशबाटै हेरेर गएको भए पनि हामीलाई लाग्थ्यो कि सरकार छ । हाम्रो पीडा सुन्छ, मनमा त मेटिन्थ्यो । भारतीयहरु पनि प्रधानमन्त्री पुगेर गए भनेर भन्थे ।’ उनले भने, ‘तर त्यसो भएन । हाम्रो पीडा सरकारले कहिले सुन्ला ? सरकालाई कुतियाकबरको दुखले कहिले पिरोल्ला ?’

बर्षेनी बाढीको समस्या भोग्नु पर्ने हुनाले यसको दीर्घकालिन समाधान खोजिनु पर्ने स्थानीय खड्के बुढा बताउँछन् । ‘तटबन्ध हुँदा हुदै पनि प्रत्येक वर्ष महाकाली गाउँ पस्छ । हामीले मचान घर बनाउन माग गरेका थियौँ । मचान घर भयो भने बाढीको बेला सुरक्षित रहन सकिन्थ्यो ।’ उनले भने, ‘हाम्रो बस्तीलाई स्थानान्तरण गर्नु पर्छ । नत्र कुन दिन बाढीले मरिन्छ १, ठेगान छैन ।’

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय