Wednesday, October 20, 2021

गुजारा चलाउनै मुस्किल भए पछि दशैँको मुखमै भारत

महेन्द्रनगर ।
नेपालीको महत्वपूर्ण चाड बडा दशैँको शहर–बजार, गाउँघरतिर चहलपहल ह्वात्तै बढेको छ । काम तथा अध्ययनका लागि घरबाट टाढा गएकाहरु घर फर्किरहेका छन् ।

चाडबाड मनाउन घर फर्किरहेकाहरुले गर्दा नेपाल–भारत सीमा नाकामा पनि चहलपहल बढेको छ । अहिले नेपाल–भारत सीमा नाकामा दुई फरक दृश्य देख्न पाइन्छ ।

बिहान दशैँ मनाउन घर फर्किनेको नाकामा लर्को लागेको देखिन्छ । फेरी त्यहीँ नाकामा दिउँसो कामको खोजीमा भारत जाने लामबद्ध भएका देखिन्छन् । दशैँको मुखमै कामको खोजीमा भारत जानका लागि सुदूरपश्चिम तथा कर्णाली प्रदेशका मानिसको नाकामा लर्को लागेको छ ।

भारत सुदूरपश्चिममेलीहरुको प्रमुख रोजगार गन्तव्य हो । नेपाल–भारत खुला सीमाका भएकाले आवातजावत सहज हुन्छ । वर्षेनी हजारौँ नेपाली काम गर्न भारतमा जान्छन् ।

उनीहरुलाई न रोगव्याधीले छेक्छ, न त चाडबाडले नै । स्वदेशमा रोजगारी नपाए पछि उनीहरु चाडबाडमै घरपरिवार छोडेर परदेशी हुन बाध्य भएका छन् ।

‘लालाबाला घरमै छोडेर चाडबाडमा घर छाडेर हिड्नु परेको छ ।’ कैलालीको गोदावरी नगरपालिका–३ का भरत ताम्राकारले भने, ‘घरपरिवारसंगै बसेर चाडबाड मनाउने रहर त थियो । तर हामीहरुको बाध्यता नै यस्तै छ ।’

अहिले घरखर्च चलाउन विदेश जानेहरुले चाडपर्वको खुसीयाली घरपरिवारसंग साट्न पाएका छैनन् । स्वदेशमा रोजगार नपाए पछि गुजारा चलाउन चाडबाडमै विदेश जानु परेको कञ्चनपुरको कृष्णपुर नगरपालिकाका शुक्रराज भट्ट दुखेको गर्छन् ।

‘आफ्नो ठाउँमा केही काम पाइएन । घरखर्च चलाउन मुस्किल प-यो ।’ उनले भने, ‘त्यसैले बालबच्चा पाल्न विदेश जान बाध्य छौँ । नभए भोकभोकै बस्नु पर्ने अवस्था आएको छ ।’

चरम बेरोजगारी, गरिबीले गर्दा घरखर्च चलाउन समस्या भएकाले वर्षको ठूलो चाडमै परदेशी हुन बाध्य भइरहेका छन् । ‘चाड भन्दा भोक ठूलो हो । खानलाई काम गर्नै प-यो । स्वदेशमा काम पाइएन ।’ कैलालीको लम्कीका हरिश विष्टले भने, ‘त्यसैले चाडमै बाध्यतावश परदेश हुनु परेको छ ।’

स्वदेशमा परिवार पाल्न गाह«ो भए पछि भारत जान लागेको अछामका अर्जुन विक बताउँछन् । ‘तीन महिना अगाडि बङ्ग्लोरबाट आएको थिए । गाउँमै पसल थापे तर त्यसले पेट पाल्न गाह«ो भयो ।’ उनले भने, ‘पसल थाप्दा लागेको ऋण तिर्न बाँकी छ । त्यही ऋण तिर्न फेरी भारत जान लागेको हो ।’

कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट दैनिक ६/७ सयको संख्यामा नेपाली नागरिक भारत गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार असोज महिनाको तीन साताको अवधिमा १४ हजार एक सय ८७ जना नेपाली नागरिक रोजगारीलाई भारत पसेका छन् ।

पश्चिमी नाका गड्डाचौकीबाट असाज १ देखि २१ गतेसम्मको अवधिमा ७ हजार ९ सय ९ जना र गौरीफन्टा नाकाबाट ६ हजार २ सय ७८ जना भारततिरको गएको प्रहरीले जनाएको छ ।

यस्तै भारतबाट स्वदेश फर्किनेको संख्या भारत जानेको भन्दा दोब्बर छ । तीन साताको अवधिमा गड्डाचौकी नाकाबाट १३ हजार ८ सय ३५ जना तथा गौरीफन्टा नाकाबाट १२ हजार ३ सय ७ जना गरी कुल २६ हजार १ सय ४२ जना स्वदेश भित्रिएका छन् ।

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटबाट मानिस नेपाल–भारत ओहोरदोहोर गरिरहेका छन् । रोजगारीको लागि भारत जानेहरुमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश र त्यस पछि कर्णाली प्रदेशका मानिस रहेका छन् ।

यहाँका मानिस रोजगारीको खोजीमा भारतको दिल्ली, देहेरादुन, बङ्ग्लोर, पन्जाब, हरियाणा लगायत शहर पुग्ने गरेका छन् । विदेशमै रोजगारी सृजना भए कामको लागि अर्काको मुलुक जानु पर्ने बाध्यता हट्ने अछामका अजुर्न विक बताउँछन् ।

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय