Wednesday, October 20, 2021

भारतबाट फर्किँदा बाटोमा यसरी लुटिदैछन् नेपाली

महेन्द्रनगर ।
कैलालीको धनगढी उपमहानगरपालिकाका दीपक जोशी भारतको हिमाञ्चलमा स्याउ टिप्ने काम गर्छन् । स्वदेशमा रोजगारी नपाउँदा पाँच महिना अगाडि उनी स्याउ टिप्न भारत गएका हुन ।

उनीसंगै त्यहाँ सयौँ नेपाली स्याउ टिप्ने काममा छन् । गत शुक्रवार दशैँ मनाउन भनेर दीपकसंगै त्यहाँ काम गर्ने १९ जना नेपाली घर आए । त्यहीँ क्रममा उनीहरु भारतमै लुटपाटमा परे ।

चाडबाडको खर्च जोहो गरेर घर फर्किरहेका उनीहरु अहिले बेखर्ची घर पुगेका छन् । घर आउनका लागि बाटोमा गाडीको प्रतिक्षामा बसेका बेला उनीहरुलाई खुकुरी देखाएर तर्साउदै पैसा लुटिएको थियो ।

‘घर आउनका लागि बसको प्रतिक्षा गरिरहेका थियौँ । त्यही बेला एक्लै भएको मौका छोपेर हतियार देखाउँदै लुटपाट भयो ।’ दीपकले भने, ‘कमाएको सबै पैसा लुट्यो, अहिले बेखर्ची भएर घर पुगेका छौँ ।’

दीपकसंग फर्किरहेका तीन जनाको करिब एक लाख ३० हजार भन्दा बढि रकम लुटिएको हो ।
नेपालीहरुको महान चाड दशैँ/तिहार नजिकिदै गएको छ । त्यसकै लागि खर्च जोहो गरेर घर फर्किरहेकाहरु लुटपाट तथा ठगीमा पर्न थालेका छन् ।

परदेशमा रातदिन नभनी परिश्रम गरेर कमाएको पैसा लुटिदा उनीहरु रित्तो हात घर फर्किन बाध्य भएका छन् । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले दैनिक दुई हजार बढि नेपाली नागरिक स्वदेश फर्किरहेका छन् ।

दशैँमा पैसा बोकेर आउने नेपालीहरु बाटोमै लटेराको निशानामा पर्नेको गरेको भारतबाट फर्किएका कञ्चनपुरका हरिभान कोली बताउँछन् । ‘दशैँमा पैसा बोकेका छन् भन्ने थाहा हुनाले हामीहरु निशानामा पर्छौ ।’ उनले भने, ‘भारतका बस स्टेशन, होटल, गाडी, बाटोमै नेपालीहरु लुटिन थालेका छन् ।’

उनका अनुसार भारतमा नेपालीबाटै पनि नेपाली लुटिन बाध्य छन् । केही दिन अगाडि सीमावर्ती सहर बनबासामा सुर्खेत र रुकुमका तीन युवक लुटपाटमा परेका थिए । भारतको अल्मोडाबाट उनीहरुसंगै एउटै गाडीमा आएका कैलालीका एक नागरिकले उनीहरुको साथमा रहेको ५० हजार रकम लुटेका थिए ।

सावधानी नपाउँदा नेपालीहरु लुटपाटमा पर्ने गरेको शुक्लाफाँटा नगरपालिकाका गोविन्द सिंहले बताए । ‘यात्राका क्रममा लुटपाटमा पर्ने खास कारण असावधानी नै हो ।’ उनले भने, ‘एक्लै हिड्ने, नचिनेको मान्छेले दिएको खाने कुरा खाने, मदिरा सेवन गर्ने लगायत असावधानीले नै लुटपाटका घटना भइरहेका छन् ।’

भारतबाट आउने नेपाली नागरिकबाट भारतीय बस व्यवसायी र नेपाली अटो व्यवसायीले चर्को शूल्क असुल्ने गरेको बैङलोरबाट फर्किएका बैतडीका करन भुलले गुनासो गरे । ‘नेपालीहरु घर फर्किरहेको मौका छोपेर भारतीय बस व्यवसायीहरुले दोब्बर÷तेब्बर भाडा लिन्छन् । आफ्नै देशमा पनि अटोहरु मनोमानी भाडा असुल्छन् ।’ उनले भने, ‘तर चाडबाडमा घर आउनै प¥यो । त्यसैले बढि भाडा तिरेर भए पनि यात्रा गर्न बाध्य छौँ ।’

बसमा सिट क्षमताभन्दा बढि यात्रु राख्दा सास्ती हुने गरेको भारतबाट फर्किनेहरुको गुनासो छ । ‘घर आउनेको चाप बढि हुनाले कोचाकोच गरेर आउनु परेको छ ।’ डोटीका योगेन्द्र विकले भने, ‘बसहरुले पुरा भाडा लिएर गन्त्व्यमा नपु¥याएर बिच बाटोमै छोड्ने पनि गरेका छन् ।’

उता ईलाका प्रहरी कार्यालय, गड्डाचौकीका सई जीवन गुरुङ विगतभन्दा नाकामा आवागमन सहज भएको दाबी गर्छन् । ‘हामीले भारतीय प्रहरीसंग नेपाली नागरिकको सहज आवागमनका लागि समन्वय गरिरहेका छौँ ।’ उनले भने, ‘अहिले त्यस्तो नाकामा सास्ती खेप्नु परेकोे छैन ।’

आवागमनमा सास्ती खेप्नु नपरोस् भनेर नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको सई गुरुङको भनाई छ । उनका अनुसार भारतमा ठेकेदारले ज्याला नदिदा ठगिएका कपिलवस्तुका एक दम्पत्तिको उद्धार गरेर मंगलवार गन्तव्यतर्फ पठाइएको छ ।

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय