Wednesday, October 20, 2021

विदेशबाट फर्किएर कृषिमा जमेका निरञ्जन, वर्षमा १४ लाख कमाउँछन्

महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामका निरञ्जन धामी ६ वर्षअघि रोजगारीका लागि विदेश हानिए । व्यवस्थापन संकायबाट स्नातक सकेर उनी स्नातकोत्तर अध्ययन गरिहेका थिए ।

गाउँका धेरै मानिस स्वदेशमै जीविकोपार्जनको उपाय नभएपछि विदेश जाने क्रम चलिरहेको थियो । स्वदेशमै रोजगारी पाइन्छ कि भन्ने आशामा उच्च शिक्षा अध्ययन गरेका उनीहरूजस्तै निरञ्जन पनि अन्ततः विदेश जान बाध्य भए ।

दुबई गएका उनले त्यहाँ समानको बजारीकरण तथा बिक्री वितरणसम्बन्धी काम पाए । मासिक एक लाखदेखि डेढ लाख रुपैयाँसम्म कमाउँथे । त्यहाँ उनले करिब २ वर्ष काम गरे ।

त्यसबीच एकपटक बिदामा गाउँ आउँदा निरञ्जनले स्वदेशमै केही गर्ने योजना बनाए । अर्काको मुलुकमा गर्ने मेहनत आफ्नै ठाउँमा गर्न सके हुन्थ्यो भन्ने सोचे ।

त्यसपछि २०७४ सालमा उनी सधैंका लागि दुबईबाट घर फर्किए र कृषि कर्म थाले ।
‘विदेशमा रहँदा मेहनत कति गर्नुपर्ने रहेछ भनेर थाहा भयो’, उनले भने, ‘विदेशमा गर्ने मेहनत आफ्नै देशमा गर्छु भनेर कृषिमा लागेको हो ।’

विदेशबाट फर्किएका निरञ्जन अहिले स्वदेशमै कृषि पेसामा जमेका छन् । भीमदत्त नगरपालिका–१९, चौधरामा १० बिगाहमा उनले तरकारी तथा तेलहनबाली खेती गरिरहेका हुन् ।

‘नेपाल तरकारीमा आत्मनिर्भर छैन । सम्पूर्ण तरकारी भारतबाटै ल्याउनुपर्छ’, उनले भने, ‘विदेशमा काम गर्दा सेल्ससम्बन्धी काम सिकियो । त्यही सीपले स्वदेशमा काम गर्न सघाउ पुगेको छ ।’

उनले सुरुमा भारतीय प्रावधिकको सहयोगमा फिल्डसम्बन्धी कामको अनुभव लिएका थिए । अहिले निरञ्जन वार्षिक डेढ लाख रुपैयाँमा जमिन भाडामा लिएर खेती गरिररहेका छन् । त्यहाँ उनले लौका, फर्सी, काँक्रा, मुलालगायत १० प्रकारका लहरे तथा बेमौसमी तरकारी लगाएका छन् ।

तरकारी खेतीबाट निरञ्जनले मनग्गे आम्दानी गरिरहेका छन् । एउटा सिजनमा ६/७ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको निरञ्जनले बताए ।

‘एउटा तरकारीको खेती सकिएपछि अर्को गरिन्छ । त्यहाँबाट सिजनमा ६/७ लाख बचाउछुँ’, उनले भने, ‘धेरै मेहनत गर्न सक्यो भने त वार्षिक १३/१४ लाख बचाउन सकिन्छ ।’

उनले तरकारी स्थानीय महेन्द्रनगर बजारको सब्जिमण्डीमा बिक्री गर्ने गरेका छन् । बढी उत्पादन भएका बेला तरकारी उनले धनगढी, नेपालगन्जसम्म पनि ढुवानी गर्ने गर्छन् ।

जिल्लाभर तरकारीको भाउमा एकरूपता नहुँदा उत्पादित तरकारीले उपयुक्त मूल्य पाउन नसकेको निरञ्जन बताउँछन् ।

‘उत्पादित तरकारी बेच्न बजारको अभाव छ । तरकारीको मूल्य तोकिएको छैन । त्यसले गर्दा तरकारले उचित मूल्य नपाउने गरेको छ’, उनले भने, ‘समयमा नै मलखाद तथा बीउबिजन नपाउन झनै समस्या हुने गरेको छ ।’

निरञ्जनको तरकारी खेतीमा त्यहाँका अन्य व्यक्तिले समेत रोजगारी पाएका छन् । मासिक तलब दिनेगरी उनले तीन जनालाई काममा राखेका छन् ।

काम बढी भएका बेला दैनिक ज्यालादारीमा १५/२० जनालाई काममा लगाउने गरिएको निरञ्जन बताउँछन् ।
कामको खोजीमा विदेशिनेहरूलाई स्वदेशमै उद्यम गर्न उनको सुझाव छ ।

‘विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ’, उनले भने, ‘त्यहाँ गर्ने मेहनत आफ्नै ठाउँमा गरेमा विदेशको जस्तै कमाइ यहीँ गर्न सक्छौं ।’

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय