Wednesday, October 20, 2021

भीमदत्तमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १९५ जनाले पाए रोजगारी

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १९५ जनाले रोजगारी पाएका छन् ।

रोजगार संयोजक केशव विष्टका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाका विभिन्न छ वडामा सो कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।

कार्यक्रमअन्तर्गत वडा नं १ मा ४५ ले धार्मिक पर्यटकीय क्षेत्र मणिदीप धामबाट विष्णु मन्दिरसम्म चार किलोमिटर र वडा नं ३ मा विष्णु मन्दिरबाट मलास जाने एक किमी बाटो निर्माण गरिएको छ ।

उक्त योजनामा ४० ले रोजगार पाएको उनले बताए । वडा नं ९ मा ब्रह्मदेवबाट खल्ला–मसेट्टी जाने बाटो निर्माण गरिएको उक्त योजनामा ५३ ले रोजगारी पाएका छन् ।

यसैगरी वडा नं १० को शान्ति सामुदायिक वनमा कार्यक्रमअन्तर्गत उद्यान निर्माणमा २८ ले रोजगारी पाएका छन् । रोजगार कार्यक्रमअन्तर्गत वडा नं १५ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र मानव बस्तीबीचको क्षेत्रमा दुई किमी ट्रेञ्च खन्ने कार्य गरिएको थियो ।

वडा नं १९ मा भने कार्यक्रमअन्तर्गत सिद्धनाथ स्कूलको खेलमैदान बनाइएकोे छ । विद्यालयको पुरानो जीर्ण अवस्थामा रहेको भवन भत्काएर खेलमैदान निर्माण गरिएकामा त्यहाँ नौ स्थानीयवासीले रोजगारी पाएका छन् ।

‘कोरोना सङ्क्रमणका कारण कार्यक्रम सुरु हुने समयमा लकडाउन भएपछि योजना पूर्णरूपमा कार्यान्वयन हुन सकेन’, संयोजक विष्टले भने, ‘सबै वडामा रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना भए पनि लकडाउनका कारण छ वडामा मात्रै कार्यक्रम सञ्चालन गर्न सकिएको छ ।’ कार्यक्रमअन्तर्गत १९५ लाई रु ६५ लाख २१ हजार ज्याला उपलब्ध गराइएको छ ।

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय