Wednesday, September 22, 2021

कोरोना विरुद्धको खोप पु-याउन हिँडेकी अस्मिता जंगलमा मृत भेटिइन

महेन्द्रनगर ।
डडेल्धुराको भित्रि मधेश क्षेत्रको परशुराम नगरपालिका–८ गोपदेगडाकी २५ वर्षीया अस्मिता धामी स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगीको काम गर्थिन ।

कोरोनाको दोस्रो लहरले गर्दा परशुराम नगरपालिका–९ जमरानीस्थित आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितालाई कामको जिम्मेवारी अरु बेला भन्दा अलि बढि नै थियो ।

नियमित कार्यालय सरसफाई लगायतको सहयोगी काम गर्ने उनी पछिल्लो समय भने कोरोना खोप ओसार्न सघाउने गर्थिन । उनी कार्यरत स्वास्थ्य केन्द्रमा असार १ गते ६२ वर्ष भन्दा माथिका वृद्धवृद्धालाई कोरोना विरुद्ध खोप (भेरोसिल) लगाइयो ।

बचेका केही डोज खोप र कागजात अस्मिताले बुधवार (असार २ गते) जोगबुढा अस्पताल पु¥याउनु पर्ने थियो । खोप र कागजात पु-याउन उनी बुधवार बिहान जोगबुढा अस्पतालतर्फ हिडिन ।

जमरानी स्वास्थ्य केन्द्रबाट जोगबुढा अस्पताल करिब १०/१५ किलोमिटरको दुरीमा छ । जोगबुढा अस्पतालसम्म पुग्न गाडीको सेवा भए पनि निरन्तरको वर्षाले सडक बिग्रेकोले त्यो दिन गाडी चलेका थिएनन् ।

स्थानीयका अनुसार हिडेर स्वास्थ्य केन्द्रबाट जोगबुढा अस्पताल पुग्न झण्डै तीन घण्टा समय लाग्छ ।
बेलुका घर फर्किनु पर्ने अस्मिता त्यो दिन अबेर रातीसम्म पनि घर फर्किदैनन् । ढिलो भयो भने कहिले काहीँ उनी स्वास्थ्य केन्द्र नजिकै बस्ने आफन्त (मामा ससुरा) कहाँ बस्ने गर्थिन । बुधवार बेलुकासम्म पनि उनी घर नपुगे पछि परिवारले आफन्त कहाँ गएको अड्कल काटे ।

अर्को दिन (बिहिवार÷असार ३ गते) स्वास्थ्यचौकीमा सम्पर्क गरेर बुझ्दा उनी कार्यालय अनुउपस्थित रहेको जानकारी आयो । त्यस पछि मामा ससुरा लगायत अन्य आफन्त सोधखोज भयो तर उनको केही अत्तोपत्तो चलेन ।

कोरोना खोप पु¥याउन गएकी अस्मिता सम्पर्कविहिन भए पछि श्रीमान र आफन्त झस्किए । तीन दिन देखि आमा घरमा नआएकाले उनका स–साना दुई छोरी आमाको पर्खाइमा थिए ।

हराएको आशंका गर्दै शुक्रवार बिहानैदेखि केही स्थानीयहरुले जमरानीदेखि जोगबुढासम्म सोधखोज गर्दै हिडे । तर अस्मिताको पत्तो भने केही लागेन ।

फेरी शनिवार बिहानैदेखि स्थानीयहरुले अस्मिता हिडेको बाटो र आसपासको क्षेत्रमा खोजी तीव्र पारे । कोरोनाबाट बचाउने ‘कोरोनाको खोप’ पु¥याउन हिडेकी उनलाई स्थानीयले जंगलमा मृत फेला पारे ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार जोगबुढा अस्पताल जाने बाटोबाट करिब ७० मिटर भित्र स्थानीय हट्वानी सामुदायिक वनमा अस्मिताको शव भेटिएको थियो ।

शव नजिकै अस्मिताको एक चप्पल, मास्क, बोकेका खोप फेला परेको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति हेर्दा हत्या गरेर फालिएको हुन सक्ने परशुराम नगरपालिका–८ का वडाध्यक्ष गोविन्द सिंह बोहराले आशंका व्यक्त गरे । ‘टाउकोमा चोट छ, भंगारा भाँचिएका छन् ।’ उनले दैनिक सञ्चारसंग भने, ‘घटना प्रकृति हेर्दा हत्या भएको जस्तो देखिन्छ ।’

अस्मिता मृत्युले उनको परिवार शोकमा डुबेको छ । उनका श्रीमान भारतमा रोजगारी गर्छन् । कोरोनाको कारण आजभोली भने उनी घरमै छन् । उनका ३ र ६ वर्षका दुई छोरी छन् ।

घटनाको सत्य, तथ्य छानविन गरि दोषिलाई कारबाहीको दायरामा ल्याउन स्थानीयले माग गरेका छन् ।

दुई अनुसन्धान टोली घटनास्थलमा
अस्मिताको हत्याको आशंकामा घटनाको अनुसन्धान सुरु भएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसपी योगेन्द्र सिंह थापा बताउँछन् ।

उनका अनुसार ईलाका प्रहरी कार्यालय, जोगबुडाको अनुसन्धानलाई सघाउन प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालयबाट दुई छुट्टा–छुट्टै अनुसन्धान टीम घटनास्थलमा परिचालन गरिएको हो ।

संघीय प्रहरी इकाइ कार्यालयका डिएसपी लक्ष्मण शाही र प्रदेश प्रहरी कार्यालयका सई पदम थापाको नेतृत्वको अनुसन्धान टोली आइतवार दिउँसो घटनास्थल पुगेको छ ।

‘बाहिरी चोट केही देखिएका छैनन् । घटना बारे सोधपुछ गर्ने कार्य भइरहेको छ ।’ एसपी थापाले भने, ‘पोष्टमार्टमका लागि शव अस्पतालमा छ । पोष्टमार्टम पछि केही खुल्ला ।’

अस्मिताको शव पोष्टमार्टमका लागि अहिले जोगबुडा अस्पतालमा राखिएको छ ।

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज सपथ

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले ...

लोकप्रिय