Saturday, June 19, 2021

नाकामा परीक्षण नहुदा सुदूरपश्चिमका गाउँ–गाउँमा पुग्यो कोरोना

महेन्द्रनगर ।
सुदूरपश्चिममा कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमा तीव्र रुपमा फैलिदै गएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरले प्रभावित भारतबाट स्वदेश फर्किने नेपाली नागरिकलाई नाकामा विनापरीक्षण प्रवेश गराउदा संक्रमण गाउँ–गाउँसम्म पुगेको हो ।

हाल सुदूरपश्चिमका विभिन्न नाका भएर स्वदेश फर्किनेको संख्या बढ्दो छ । संक्रमणको दोस्रो लहरले प्रभावित भारतको महाराष्ट्र, दिल्ली, पन्जाब, गुजरात, देहेरादुन लगायतका ठाउँबाट आउने अधिकाँसमा संक्रमण पाइएको छ ।

तर नाकामा चेकजाँचको व्यवस्थापन फितलो हुँदा संक्रमण सिधै गाउँ–गाउँ पुगेको चिकित्सकहरु बताउँछन् ।
एन्टिजेन परीक्षण गर्ने किट अभावमा स्वास्थ्य परीक्षण नगरी पठाउने गरेको गड्डाचौकी हेल्थ डेस्कका प्रमुख आकाश बारुडीले बताए ।

‘अहिले हामीले कञ्चनपुरका मानिसको मात्रै परीक्षण गर्ने गरेका छौँ । यहाँका मानिसको परीक्षण गर्न पनि किट छैनन् ।’ उनले दैनिक सञ्चारसंग भने, ‘माग गरे अनुसार किट पाइदैन । अरु जिल्लाका मानिसलाई होल्डिङ सेन्टरमा राखेर सिधै गन्तव्यतिर पठाउँछौँ । उहाँहरुको त्यही परीक्षण हुन्छ ।’

उनका अनुसार गड्डाचौकी नाकाबाट पछिल्लो समय दैनिक ७÷८ सय मानिस स्वदेश फिर्ता भइरहेका छन् । तीमध्ये अधिकाँस सुदूरपश्चिम प्रदेशका हुन ।

उता क्वारेन्टाइन, आइसोलेसनको निर्माण तथा व्यवस्थापन गर्नुपर्ने, संक्रमण फैलिन नदिन कन्ट्रयाक्ट ट्रेसिङमा जुट्नुपर्ने स्थानीय तहहरू महामारीका बेला सुस्त देखिएका छन् ।

महामारी रोकथामका लागि पालिकाहरू सक्रिय नभएका कारण भारत तथा नेपालका अन्य जिल्लाबाट आउनेहरू सोझै घरपरिवार र समुदायको सम्पर्कमा जाँदा समुदायस्तरमा संक्रमण फैलिएको छ ।

भारतबाट आएकाहरुलाई होम क्वारेन्टिनमा बसाउने गरिएको बझाङको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए । ‘अन्यत्र ठाउँमा क्वारेन्टिनको व्यवस्थापन गरिने छैन् । हाल होम क्वारेन्टिनमै बस्नु भनेर घर जान दिन्छौँ ।’ उनले दैनिक सञ्चारसंग भने, ‘स्वास्थ्य परीक्षण त गर्ने हो तर किट पाइएको छैन् ।’

भारत तथा अन्यत्र ठाउँबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टिनमा राख्नु पर्ने भए पनि सिधै गाउँ–घरमा पठाउँदा संक्रमण समुदायस्तरमै तीव्र बनेको गएको सेती प्रादेशिक अस्पतालका डाक्टर शेर बहादुर कमर बताउँछन् ।

‘नाकामा आउँदा नै स्वास्थ्य परीक्षण गर्नु प-थ्यो । त्यो गर्न सकिएको छैन् ।’ उनले भने, ‘न त क्वारेन्टिनमा नै राखिएको छ । यसरी सोझै समुदायको सम्पर्कमा जाँदा संक्रमण फैलिदै गएको हो ।’

होम क्वारेन्टिनको नाममा सिधै घर पठाइएकाहरुमाथी निगरानी नभएको पाइएको छ । भारतबाट आएकाहरुलाई स्वास्थ्य परीक्षण नै नगरी सोझै गाउँ–गाउँ पठाउँदा संक्रमण ‘भुसको आगो’ जसरी फैलिएको चिकित्सकहरुको विश्लेषण छ ।

स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार प्रदेशभर सक्रिय संक्रमितको संख्या तीन हजार चार सय ३ जना रहेको छ । सबैभन्दा बढि कैलालीमा एक हजार सात सय ३० जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यस्तै कञ्चनपुरमा पाँच सय २६, बैतडीमा तीन सय ४५, डोटीमा दुई सय ६१, डडेल्धुरामा दुई सय ३५, अछाममा एक सय ४५, बझाङमा एक सय ३९ तथा बाजुरा र दार्चुलामा पाँच/पाँच सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेशका नौ वटै जिल्लामा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

अनेरास्ववियु कञ्चनपुरद्धारा बाल अनाथालयमा खाद्यान्न सहयोग

महेन्द्रनगर । अनेरास्ववियु कञ्चनपुरले महेन्द्रनगरस्थित बाल अनाथलायमा खाद्यन्न सहयोग गरेको छ । सोमवार खाद्यान्न सामाग्री एक कार्यक्रमकाबीच बाल अनाथालयलाई हस्तान्तरण गरिएको हो । कोरोना संक्रमणको दोस्रो...

लोकप्रिय

Shares