Sunday, April 18, 2021

तस्करी नियन्त्रणमा कञ्चनपर प्रहरीको एक्सनः ठूलो मात्रामा लागूऔषध बरामद

महेन्द्रनगर ।
भारतीय तस्कर र प्रहरीको मुठभेड भएको कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलहाबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ ।

बिहिवार साँझ नेपाल–भारत सीमा पौलहामा भारतीय तस्कर र गस्तीमा रहेको प्रहरीबिच दोहोरो भिडन्त हुँदा एक जना तस्करको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर थापाका अनुसार भारतको पिलिभित थाना हजार बुदान–४ का २२ वर्षीय गोबिन्द सिंहको जवाफी कारबाहीमा ज्यान गएको हो ।

खुला सीमाको मौका छोपेर कञ्चनपुरको सीमा क्षेत्रमा व्याप्त तस्करी तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न पछिल्लो समय प्रहरीले सो क्षेत्रमा कडा निगरानी राखेको छ ।

त्यसैमा बिहिवार बेलौरी नगरपालिका–७ पौलहाबाट भारतीय तस्करले लागूऔषध नेपाल सप्लाई गरिरहेको सूचना प्रहरी आयो । ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी हबल्दारको नेतृत्वमा ४ जनाको प्रहरी टोली सूचनालाई पछ्याउदै बेलुका सो क्षेत्रमा गस्तीमा पुग्यो ।

भारतबाट चार जनाको समूह झोला भिरेर नेपालतर्फ आइरहेको देखे पछि गस्तीमा रहेको प्रहरी टोलीले झोला चेकजाँच गर्न खोज्यो । प्रहरीका अनुसार झोला चेकजाँच गर्ने क्रममा सो समूहले गस्तीमा रहेको प्रहरीमाथी फायर खोलेको थियो । त्यस पछि प्रतिरक्षा गर्न प्रहरीले पनि गोली चलाएको थियो ।

प्रहरीको गोली छातीमा लागेर एक भारतीय तस्करको ज्यान गयो भने त्यस पछि अन्य तीन जना भारततर्फ भागेका थिए । मृतक तस्कर सिंहको शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा राखिएको छ । भारतीय तस्करको आक्रमण पछि प्रहरीका एक जना जवान पनि सामान्य घाइते भएका छन् ।

उनको खुट्टामा चोट लागेको छ । ‘यो समूह लामो समयदेखि लागूऔषध र नक्कली नोट बनाउने अपराधमा संलग्न रहेको खुलेको छ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्बेदीले भने, ‘यस्ता क्रियाकलाप गर्ने माथी हामीले कडा निगरानी राखेका छौँ ।

चेकजाँच गर्ने क्रममा गस्ती टोलीमाथी फायर खोले पनि हामील पनि जवाफी फायर गरेका थियौँ ।’ उनका अनुसार घटनास्थलबाट ठूलो मात्रामा लागू औषध र नक्कली नोट बनाउने मेसिन बरामद गरिएको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट करिब ६५.८१ ग्राम ब्राउन सुगर, २४.८६ ग्राम ह्वाइट सुगर जस्तो देखिने सेतो पदार्थ, नक्कली नोट बनाउने दुई थान मेसिन, ३.४५ ग्राम कालो पाउडर, एफोर साइजकोे पेपर, ५०० भारु बराबर साइजको काटिएको सेतो कागज, कागज काट्ने धारिलो चक्कु, रुलर र एक थान भिबो मोबाइल बरामद गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

धनगढी । कैलालीका विद्यालय १० दिन विद्यालय बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी...

लोकप्रिय

Shares