Sunday, April 18, 2021

राजेन्द्र महतोको प्रश्नः ‘१७ हजार मान्छे मार्ने प्रचण्ड खोई जेल गएको ? (भिडियो)

महेन्द्रनगर ।
जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले टीकापुर हत्याकाण्ड सरकारले षड्यन्त्रपूर्वक गराएको आरोप लगाएका छन् ।

जनता समाजवादी पार्टी कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले आन्दोलनकारी रेशम चौधरी र लक्ष्मण थारुलाई टीकापुर घटनामा षड्यन्त्रमूलक ढङगले फसाइएकोे आरोप लगाएका हुन ।

‘हाम्रा पनि अधिकार, पहिचान संविधानमा राख्देउ भन्दा सरकार गोली मार्दो रहेछ । गोली ठोकेर जनतालाई हत्या हिंसा गरेर संविधान जारी गर्दो रहेछ । के हो त्यो टीकापुर घटना ? थारुले आफ्नो पहिचान मागेको न हो । थारुहरुले आफ्नो पहिचान संविधान राख्देउ, पहिचान सहितको संघियता देउ भनेको हो ।’ उनले भने, ‘तर विद्रोहमा षड्यन्त्र भएर दुर्घटना निम्तियो । दुर्भाग्य केही सुरक्षाकर्मी मारिए । टीकापुरमा राज्यपक्षबाट षड्यन्त्रमूलक ढङगले त्यो काम भएको हो । आन्दोलनकारी रेशम चौधरी र लक्ष्मण थारुलाई आजीवन जेल सजाय सुनाइएको छ ।’

आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, मधेसीले आफ्नो अधिकार तथा पहिचानको माग गर्दा हत्या, हिंसा हुने गरेको उनको भनाई छ । अधिकार, पहिचानको लागि आन्दोलन गर्नु अपराध हो भने १७ हजार मान्छे मार्ने माओवादी आन्दोलनको नेता पुष्पकमल दाहाल (प्रचण्ड) र झापा आन्दोलनमा टाउको काट्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कारबाही गर्नु पर्ने उनको माग छ ।

‘१७ हजार मान्छे मार्ने माओवादी आन्दोलनमा ५ हजार सुरक्षाकर्मी, जनताका छोराछोरी मारिएका थिए । अनि खोई प्रचण्ड जेल गएको त ? रेशम चौधरी मात्रै जेल जाने । यो सबैको नेपाल भयो त ? कानून सबको लागि बराबर भयो त ? आजिवन काराबास रेशम चौधरीलाई दिने हो भने १७ हजार वर्ष जेल सजाय हुन्छ नी प्रचण्डलाई । एक देशमा दुई कानून हुन्छ र ? किन त्यस्तो गरियो ?’ उनले प्रश्न गरे, ‘झापा आन्दोलनमा केपी शर्मा ओलीले बञ्चरोले टाउको काटेको होइन ? अनी ऊ देशको प्रधानमन्त्री हुने, प्रचण्ड देशको प्रधानमन्त्री हुने अनि थारु चाही जेलमा बस्नु पर्ने । यही हो सबैको साझा फूलबारी, यही हो सबैको देश ?’

नेपाल बहुल जाती, धर्म, संस्कृतिको साझा फूलबारी भए पनि शासकहरुले त्यो गीतमा मात्रै सीमित राखेको भन्दै नेता महतोले आपत्ति जनाए ।

‘नेपाल सयौँ थुंगा फूलमा एउटा माला नेपाली हौत ?’ राष्ट्रिय गीतको प्रसंग निकाल्दै नेता महतोले प्रश्न गर्दै भने, ‘खोई नेपाल सबैको नेपाली बनाइएको ? यो देशमा खाली गाना गाउने काम मात्रै भइरहेको छ । एकिकरण गर्ने राजा पृथ्वी नारायण शाहले नेपाल चार जात, छत्तिस वर्णको साझा फूलबारी हो भन्ने सन्देश दिएका थिए । तर दुर्भाग्य, त्यस पछिका नेपालका कुनै पनि शासकले त्यो साझा फूल बारी बनाइदिएनन् ।’

पटक पटक संविधान र शासन फेरिए पनि कहिल्यै पनि व्यवहार र विचार नफेरिएको उनको टिप्पणी छ ।

‘देशमा सात/सात वटा संविधान बने पनि नेपालीले जनता त्यसमा अधिकार र पहिचान पाउन सकेका छैनन् ।’ उनले भने, ‘शासन र संविधान जनता र देशको सुशासन, समृद्धि हुन्छ । तर यो देशमा जनताले न सुशासन पाए न समृद्धि ।’

कोरोना र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको विरुद्धको आन्दोलनले पार्टी समायोजनमा ढिलाई भएको बताउँदै नेता महतोले छिट्टै प्रदेश र जिल्लातहमा पार्टी समायोजन हुने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

धनगढी । कैलालीका विद्यालय १० दिन विद्यालय बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी...

लोकप्रिय

Shares