राम बहादुर बोहरा/महेन्द्रनगर ।
दैजी–छेला औद्योगिक क्षेत्रको सिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने भए पछि बेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्द धर्मसंकटमा परेका छन् ।
प्रतिनिधि सभा संसद विघटन पछि दुई धारमा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहको कित्तामा उभिएका मेयर चन्द प्रधानमन्त्री ओलीको स्वागतमा जाने वा नजाने भन्नेमा दोधारमा छन् ।
यो पनिः मन्त्रीको टीम सहित प्रधानमन्त्री ओली आज कञ्चनपुर आउँदै
पार्टीले शिलान्यास कार्यक्रममा सहभागी नहुन भनेको र अर्कोतर्फ नगरकै सबैभन्दा ठूलो विकास योजनाको शिलान्यास भइरहेको अवस्थामा मेयर चन्द सहभागी हुने/नहुनेमा अलमलमा छन् ।
प्रधानमन्त्रीको स्वागत तथा शिलान्यास कार्यक्रममा सहभागी हुने नहुने बारे अझै टुङ्गो लागि नसकेको मेयर चन्द बताउँछन् ।
‘पार्टीले कार्यक्रममा नजानु भनेको छ । पार्टीको निर्णयमा ठेस पु¥याउनु पनि भएन । तर एउटा जनप्रतिनिधिकोे हैसियतमा जान सकिन्छ ।’ मेयर चन्दले दैनिक सञ्चारसंग भने, ‘अहिले नै जाने वा नजाने भन्ने टुङ्गो लागेको छैन् । पछि त्यही बेला के हुन्छ हेरौँ ।’
बेदकोट नगरपालिका–३, छेलामा बन्ने दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली मन्त्रीको टोलीसहित यता आउन लागेका छन् ।
प्रधानमन्त्री ओलीसँगै सुदूरपश्चिमबाट संघीय सरकारमा प्रतिनिधित्व गर्ने उद्योग वाणिञ्ज तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा भूसंरक्षणमन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना तथा श्रममन्त्री गौरीशंकर चौधरी पनि कञ्चनपुर आउँदै छन् ।
प्रधानमन्त्री आउने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यक्रमस्थलमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था मजबुत बनाइएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।