महेन्द्रनगर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका हीरा लुहारको मृत्यु भएपछि बालबालिकाको बिजोग भएको छ । आरन पेसाले जीवन धानिरहेका लुहारको दुई दिनअघि पेट फुल्ने समस्याले मृत्यु भएको थियो। लुहारकी श्रीमतीको पनि गत वर्ष मिर्गौलासम्बन्धी समस्याका कारण निधन भएको थियो।
बुवाआमाको निधनपछि उनीहरूका बालबच्चाको भने बिजोग भएको छ । अर्काको जग्गामा बस्दै आएका लुहारका दुई छोरा दुई छोरी छन्। ‘लुहारका १८ वर्षीय जेठो छोरा बुहारी कामको सिलसिलामा भारतमा छन्,’ छिमेकी ईश्वर सुनारले भने, ‘अरु बालबालिकाक भने ८ देखि ११ वर्ष उमेरका छन्।
घरका कमाउनेको मृत्यु भएपछि बालबालिका बिचल्लीमा परेका छन्।’ लुहारको दाहसंस्कारका लागि वडा कार्यालयले ट्रयाक्टरको व्यवस्था र सामुदायिक वनबाट दाउराको व्यवस्था मिलाइएको थियो। किरिया खर्चका लागि स्थानीय बासिन्दाले चन्दा संकलन गरेका छन् ।
‘गाउँका सबै जनाबाट किरिया खर्चका लागि चन्दा मागिरहेका छौं’, छिमेकी सुनारले भने, ‘उनीहरूको घरमा अन्नसमेत छैन।’ बेसहारा बनेका बालबालिको खाने, बस्ने र शिक्षाको व्यवस्था मिलाइदिन दातृ निकायसँग स्थानीयले आग्रह गरेका छन् ।