बझाङ ।
ससुराली गएका बझाङका एक युवक दाङबाट बेपत्ता भएका छन्। जयपृथ्वी नगरपालिका–४ गोलाईका २० वर्षीय लक्ष्मण विक माघ ४ गतेदेखि सम्पर्कविहिन भएको परिवारले जनाएको छ । दाङको तुल्सीपुर नगरपालिका वडा नम्बर १८ मा रहेको ससुराली घरमा गएका उनी त्यहिबाट बेपत्ता भएका हुन ।
विकले १ वर्षअघि दाङकी गायत्री कुमाल सँग विवाह गरेका थिए । कुमाल ५ महिना बझाङ बसेर माइती घरमा गएकी र त्यसपछि बझाङ फर्किन नमानेकोले उनलाई लिन विक दाङ गएको बुवा हरी कामीले बताए । माघको पहिलो हप्तातिर काठमाडौंमा रहेका लक्ष्मणलाई गायत्रीले नै लिन आउन भनेर फोन गरेको तर उनी त्यहाँ जाँदा गायत्री दाङमा नभेटिएपछि फोनमा दुईजनाबीच केही कुरा बाँझिन गइ लक्ष्मण बेपत्ता भएको गायत्रीको माइती पक्षले जनाएको छ ।
लक्ष्मणका बुवा हरि कामीले भने, ‘अब लिन आइजा भनेर बुहारीले नै फोन गरेर बोलाएकी हुन । बुहारी घरमा नभेटेपछि दुईजनाको फोनमा भनाभन भयो । अनि लक्ष्मण फोन पनि त्यही छोडेर हिँडेको हो भन्छन्। आजसम्म केही खबर छैन।’ उनले बेपत्ता छोराको खोजीको लागि दाङ प्रहरीमा उजुरी दिएको भएपनि हालसम्म कुनै जानकारी नहुँदा परिवारमा चिन्ता छाएको हरि विकले बताए ।