महेन्द्रनगर ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक (एसपी) उमाप्रसाद चतुर्बेदीले निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटनालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै एसपी चतुर्बेदीले आफ्नो कार्यकालमा अनुसन्धान टुङग्याउन प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरे ।
‘जिल्ला प्रहरी कार्यालय र मेरो बसाईकोे पहिलो प्राथमिकतामा निर्मला प्रकरण हुन्छ । मेरो कार्यकालमा घटनालाई टुङग्याउन इमान्दार प्रयास रहनेछ ।’ उनले भने ।
घटनामा संलग्नताको बलियो तथ्य, प्रमाण भेटिएमा जस्तो सुकै दर्जाको मानिसलाई पनि कानूनी दायरामा ल्याउने एसपी चतुर्बेदीको भनाई छ । ‘कुनै प्रमाण नभेटिकन व्यक्ति विशेषको चरित्र हत्या हनन् हुने गरी कुनै पनि अभिव्यक्ति दिनु गैरकानूनी हो । त्यस्तालाई कानूनी दायरामा ल्याउन सक्ने अवस्था आउन सक्छ । बोल्दा सचेत हुनु पर्छ ।’
मंगलवार जिप्रका कञ्चनपुरमा पत्रकारहरुसंग बोल्दै उनले भने, ‘यदी केही सूचना छ भने हामी लिन्छौँ । पेश गर्नु प-यो । नभए हचुवा तालमा कपोकल्पित हिसाबले कुनै पनि व्यक्तिको चरित्र हत्या गर्न पाइदैन ।’ उनले अगाडि थपे, ‘सूचना प्रमाण योग्य छ भने शत प्रतिशत ग्रहण गर्छौ । जुनसुकै दर्जाको व्यक्ति भए पनि घटनामा संलग्नताको प्रमाण फेला परेको बखत कोही छुट्नेवाला छैन । कानून भन्दा माथि कोही हुदैन ।’
केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) बाट सरुवा भएर कञ्चनपुर आएका एसपी चतुर्बेदीसमक्ष पछिल्लो समय राजनीतिक दलका नेताहरुले गृहमन्त्री राम बहादर थापा ‘बादल’का छोरामाथी लगाएको आरोपको प्रसंगमा पत्रकारहरुले जिज्ञासा राखेका थिए ।
एसपी चतुर्बेदी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकृत पनि हुन । झण्डै तीन महिना कञ्चनपुरमा बसेर निर्मला प्रकरणको अनुसन्धानमा खटिएका चतुर्बेदी नै जिल्लाको प्रहरीको प्रमुख भएर आए पछि घटनाको सत्य, तथ्य बाहिर आउने अपेक्षा समेत स्थानीयबासीहरुले व्यक्त गरेका छन् ।
वि.स. २०७५ साउन ११ गते घर नजिकैको उखुवारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा निर्मला पन्तको शव भेटिएको थियो । घटना भएको साढे दुई वर्ष बितिसक्दा पनि अपराधी कानूनी दायरामा आउन सकेको छैन ।
उता एसपी चुतर्बेदीले विभिन्न कोणबाट घटनाको अनुसन्धान जारी रहेको दाबी गरेका छन् ।
‘सबै पक्षलाई हेरेर र अन्य नयाँ सीराहरुमा पनि तथ्यहरु खोज्ने काममा अनुसन्धान केन्द्रीत गरेका छौँ । लामो समयदेखि यही केसमा सिआईबीको टोली पनि लागेको छ ।’ उनले भने, ‘अहिलेसम्म केही तथ्य प्रमाण फेला परेका छैनन् । दुई÷चार वटा इस्युमा हामी केन्द्रीत छौँ ।’
दीलिप सिंह विष्ट विरुद्धको निर्मलाकी आमा दुर्गादेवीको किटानी जाहेरीका आधारमा दीलिपमाथी समेत अनुसन्धान केन्द्रीत भएको एसपी चतुर्बेदीको भनाई छ ।
‘शंका पुस्ट्याइ हुने प्रयाप्त प्रमाण नभेटिएसम्म कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिइ अभियोजन गर्ने भन्ने अवस्था हुदैन । जाहेरीकै आधारमा प्रयाप्त तथ्य, प्रमाणको खोजी गरिरहेका छौँ ।’, उनले भने, ‘दिलिप ंशंकाको घेरा भन्दा बाहिर गएका छैनन् ।’
भिडियोः
https://www.facebook.com/Sanchardainik/videos/3967950986591034