कुमार बोहरा/रमेश बोहरा
देउलेख ।
बझाङको वित्थडचिर गाउँपालिकामा कोरोना संक्रमण बढ्दै गए पछि विद्यालयहरु बन्द भएका छन् ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक साताका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
कोरोना संक्रमण कम हुदै गए पछि झण्डै आठ महिना पछि खुलेका विद्यालय फेरी बन्द भएका हुन ।
विद्यालयकै शिक्षकमा कोरोना संक्रमण देखिए पछि संक्रमण थप फैलिन नदिन विद्यालय बन्द गर्नु पर्ने अवस्था सृजना भएको वित्थडचिर गाउँपालिकाका शिक्षा शाखा प्रमुख मदन बमले बताए ।
गाउँपालिकाका सरकारी र निजी सबै विद्यालय एक साताका लागि बन्द भएको उनले बताए ।
यस अघि कोरोना महामारीले बन्द रहेका विद्यालयमा मंसिर १० गतेदेखि पठनपाठन सुरु भएको थियो ।
बुधवार वित्थडिर गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा देवेश्वरी माध्यमिक विद्यालय र सुनकुडा माध्यमिक विद्यालयका एक/एक जना शिक्षक छन् भने एक जना सुनकुडाका स्थानीय छन् ।
यो संगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । ती मध्ये ४८ जना निको भएका छन् ।