Wednesday, January 20, 2021

तिहार सकिएलगत्तै भारत जानेको लर्को, कञ्चनपुरका दुई नाकाबाट एक सातामै १० हजार बाहिरिए

महेन्द्रनगर ।

कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ ।

कोरोनाको डरले घर फर्किएहरु स्वदेशमा केही रोजगारी नपाएपछि हातमुख जोर्ने समस्या टार्नका लागि महामारीकै बीच भारततिरै पसिरहेका हुन् ।

पछिल्लो एक साताको अवधिमा (भाई टीका पश्चात्) मात्रै झण्डै १० हजार मानिस रोजगारीका लागि भारत पसेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार २ मंसिरदेखि ८ मंसिरसम्म गड्डाचौकी नाकाबाट १ हजार ७ सय १३ जना र गौरीफन्टा नाकाबाट ८ हजार १८ जना गरी ९ हजार ७ सय ३१ जना रोजगारीको खोजीमा भारत गएका छन् ।

रोजगारीका लागि भारत जाने सुदूरपश्चिम तथा कर्णाली प्रदेशका मानिसहरुको पश्चिमी सीमा नाका गड्डाचौकी र गौरीफन्टामा दिनहुँ सयौँको भीड लाग्ने गरेको छ ।

केही समय अगाडि जसरी स्वदेश फर्कनेहरुको भिड हुन्थ्यो अहिले त्यसैगरी पश्चिमी सीमानाका गड्डाचौकी र गौरीफन्टाबाट भारत जानेको लर्को लाग्ने गरेको हो ।

यी दुई नाकामा आजभोलि झोली–झिम्टासहित आफ्ना लालाबाला बोकेर रोजगारीका लागि भारत पसिरहेका मानिसको भिड देखिन्छ ।

गाउँ–घरमा रोजगारी नपाएपछि परिवार पाल्नकै लागि महामारीकै बेला कामको खोजीमा भारत जानु परेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का हरिभान बोहरा बताउँछन् ।

‘भारतमा कोरोना देखापरेपछि घर आएको थिएँ, ६/७ महिना यत्तिकै बिताएँ, भएभरको पैसा सकियो’, उनले भने, ‘घर खर्च चलाउनै मुस्किल प-यो, स्वदेशमै रोजगारी नपाउदा कामको खोजीमा भारत जान बाध्य छौँ ।’ स्वदेशमै रोजगारी सृजना हुन नसक्दा जीविकोपार्जन गर्न धौ–धौ परे पछि कामको खोजीमा भारत जानु परेको बैतडीको सिगास गाउँपालिकाका तेज धामीले बताए ।

‘६/७ महिना घरमै बिताउँदा पनि सरकारले रोजगारी दिन सकेन । काम नपाएपछि घरखर्च चलाउन गाह्रो भयो’, उनले भने, ‘रोगले भन्दा पनि भोकले मर्ने स्थिति आयो, त्यसैले परिवार पाल्न कालको मुखमा होमिनु पर्ने बाध्यता छ ।’

भारतबाट फर्किएका युवा जनशक्तिहरुलाई स्वदेशमै रोजगार बनाउने किसिमले सरकारले सम्बोधन गर्न नसक्दा पुनः भारततर्फ जानुपरेको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंगबहादुर मल्ल बताउँछन् ।

तीनै तहका सरकारले मानव श्रमशक्तिलाई अवसरमा बदल्न नसकेको उनको टिप्पणी छ । ‘ठूलो जनशक्ति स्वदेश भित्रिएको थियो ।

तर, सरकारले सीपमूलक रोजगारी सिर्जना गर्न सकेन । सरकारले केही रणनीतिक योजना नै ल्याएन’, उनले भने, ‘त्यसैले महामारीमा दुखकष्ट खेप्दै स्वदेश पुगेका जनशक्ति पुनः त्यहीँ जान बाध्य भएका छन् ।’

५ हजार बढि भित्रिए
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेको भन्दा भित्रिनेको संख्या दोब्बर छ । पछिल्लो एक साताको अवधिमा ५ हजार भन्दा बढि मानिस भारतबाट स्वदेश फिर्ता भएका छन् ।

प्रशासनको तथ्याङ्क अनुसार पछिल्लो एक साताको अवधिमा गड्डाचौकी नाकाबाट २ हजार १ सय ११ जना र गौरीफन्टा नाकाबाट ३ हजार ४ सय २६ जना गरी कूल ५ हजार ५ सय ३७ जना भारतबाट स्वदेश फिर्ता भएका छन् ।

भारतमा कोरोना संक्रमण उत्कर्षमा रहेका बेला नाकामा बिना कुनै स्वास्थ्य परीक्षण निर्वाध रुपमा धमाधम भारतबाट मानिस स्वदेश फिर्ता भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कोरोनाका कारण दुबईमा ज्यान गुमाएका गुरुङका परिवारलाई आइएमईको आर्थिक सहयोग

कैलाली, ०७ माघ । कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएका दिनेश गुरुङको परिवारलाई आईएमई लिमिटेडले आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा दुबई गएका गुरुङको कोरोना...

लोकप्रिय

Shares