महेन्द्रनगर ।
बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन ।
चैत्र महिनायता पेन्सन बुझ्न नपाएकी उनमा केही दिनका लागि झुलाघाट नाका खुले पछि खुसी छाएको थियो । मंसिर १२ मा कान्छा छोरा रविन्द्रको बिहे तय भएको थियो ।
जीवनको उतार्ध काट्दै गर्दा पार्वतीलाई आफ्ना कान्छा छोराको बिहे हर्र्नेे चाहना थियो । तर उनको यो चाहना अधुरै रह्यो ।
मंगलवार दिउँसो झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको उनी जस्तै १० जना सवार ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका–१० स्थित बुढ्ढा नजिकै दुर्घटनामा प-यो ।
सो दुर्घटनामा पार्वतीले ज्यान गुमाइन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी सुर्नया गाउँपालिका–४ की ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–४ का ७७ वर्षीय भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ का ७२ वर्षीय पार्वती चन्द र दशरथचन्द नगरपालिका–२ का ५८ वर्षीय कृष्ण लावडले पनि ज्यान गुमाए ।
दशरथचन्द नगरपालिकाकी उप–प्रमुख मिना चन्दका अनुसार मृतक पार्वतीको साथमा ‘मंसिर १२ गते बिहे तय’ भएका उनका कान्छा छोरा रविन्द्र पनि थिए । उनका तीन छोरा छन् । तीमध्ये एक जना काठमाडौँ बस्छन् भने अर्का रोजगारीको शिलशिलामा बिदेश छन् ।
‘बिहेका लागि रविन्द्रको घरमा तयारी भइरहेको थियो । परिवारका सबै सदस्य घरमा जम्मा भएका थिए । तर उहाँले आमा गुमाउनु परेको छ ।’ दशरथचन्द नगरपालिकाकी उप–प्रमुख मिना चन्दले भनिन्, ‘रविन्द्र पनि घाइते हुनु भएको छ । उहाँको टोउकोमा चोट लागेको छ ।’
दुर्घटनामा ठूलो मानविय क्षति भए पछि दशरथचन्द नगरपालिका शोकमा डुबेको छ । दशरथचन्द नगरपालिकाकी उप–प्रमुख चन्दले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।
दुर्घटनामा परी रविन्द्र चन्द, प्रदिप लावड, खगेन्द्र जोशी र कृष्णानन्द भट्ट दुर्घटनामा परी घाइते भएका छन् ।
‘पेन्सन बुझेर फर्किरहनु भएको थियो । बिच बाटोमै दुर्घटनामा पर्नु भएको छ ।’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक बहादुर धामीले भने ।
दुर्घटनामा परी घाइते भएकाहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । तीव्रगतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकबाट करिब सय मिटर तल खसेको थियो ।