Wednesday, October 20, 2021

मेयर अशोक चन्दको ‘खप्तड डायरी’: ……अनि डराई–डराई घोडा चढे !

अशोक कुमार चन्द
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक साँस्कृतिक तथा पर्यटकीय क्षेत्र खप्तडको धेरै पहिला देखि नै मेरो अवलोकन गर्ने प्रवल ईच्छा थियो ।

पर्यटन व्यवसायी तथा समाजसेवी परमानन्द भण्डारी जीले पटक–पटक खप्तड जाने प्रस्ताव गर्नुभएको थियो । तर विभिन्न कारणले जाने समय जुरेको थिएन, तर यस पटक उहाँको प्रस्ताव अनुसार खप्तड जाने मानसिकता तयार गरे तर जाडो याम सुुरु भयो हिड्न सकिँदैन कि ?

अनि खप्तड पुगिहाले पनि चिसो लागेर थला परिन्छ र कोरोनाले समात्छ कि ? भन्ने मनमनै डर लागिरहेको थियो । यसै बिचमा नेपाली सेनाका २५ न बाहिनीपती जरसाप श्री कृष्ण जिसि र सुदुरपश्चिम सरकारका मुख्यसचिव श्री रामकृष्ण सुवेदी सरको टोली पनि संगै जाने भए पछि हाम्रो टोली धेरै उर्जा र उत्साहका साथ २०७७ कार्तिक २१ गते बिहान ८ बजे खप्तड जाने निधो गर्यौ ।

खप्तड क्षेत्र एक प्राकृतिक सुशोभित क्षेत्र हो । भू–स्वर्गको उपमा पाएको खप्तडलाई आन्तरिक पर्यटकको रूपमा प्रकृतिको अनुपम उपहार नाङ्गो आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रंगीविरंगी फूलले छोपेका मैदान, वर्षायाममा हरियाली फाँट र हिउँदमा सेताम्य बाक्लो हिउँले ढाकेको खप्तड, शास्त्रमा वर्णित अमरावतीभन्दा कम लाग्दैन खप्तड ।

***

त्यसैले हुनसक्छ, पहिलो पटक खप्तड भ्रमण गर्नेहरु स्वर्गमा पुगेको प्रतिक्रिया दिने गरेको सुन्दा त्यही खप्तड क्षेत्रको यात्रा प्रारम्भ गरौँ । खप्तड जान कञ्चनपुरबाट कार्तिक २१ गते बिहान ८ बजे खप्तडका लागि हिड्यौँ । बाटोमा भेटघाट गर्दा गर्दै हाम्रो टोली बेलुकी ६ः०० बजे डोटीको शिलगढी पुग्यो ।

डोटीको सदरमुकाम सिलगढीबाट पुर्व उत्तर तर्फ थोरै कालोपत्र सडक पार गरे पछि झन्डै १४ किमि धुल्लाम्मे कच्ची सडक २ घण्टा गाडीको यात्रा पार गरे पछि पुर्वीचौकी गाउँपालिका वार्ड न २ मा पर्ने झिग्राना आइपुग्यौँ । झिग्रानाको खप्तड होम स्टे आइपुग्दा होम स्टे सञ्चालक तथा पर्यटन व्यवसायी दिपक बहादुर खड्काले हाम्रो टोलीलाई स्वागत गर्नुभयो ।

काठका ठुला ठुला मुढामा आगो बालेर जाडो छल्न आगोको वरिपरि नेपाली काङ्ग्रेसका नेता प्रदेश सभा सदस्य मा. भरत खडका, नेका नेता, कार्यकर्ता र पत्रकार सहितको ठुलो टिम बसिरहेका थिए । हामीलाई पनि आगो ताप्न र सेक्नका लागि भने पछि हामी पनि न्यानो आतिथ्यता लिन थाल्यौं ।

माननीय भरत खडका ज्यूसंग खप्तड क्षेत्रको विकास निर्माण, पर्यटन प्रवद्र्धन, सडक सञ्जाल र अन्य समसामयिक बिषयमा कुराकानी भयो । त्यस पछि नेपाली सेनाका गोरख दल गुल्म खप्तडका मेजर सापको खाना खाने निम्तो स्वीकार गर्न नेपाली सेना झिग्राना पोस्टमा गयौँ ।

त्यहाँ मेजर साप, खप्तड मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष निकुञ्ज प्रमुख संरक्षण अधिकृत लगायतले स्वागत गर्दै सुदुरपश्चिम प्रदेशका मुख्य सचीव, २५ नम्बर बाहिनीका बाहिनीपति जरसाप लगायत हाम्रो टोलीलाई खप्तडका बारेमा जानकारी गराउनु भयो । संगै खाना खायौँ ।

***

अत्यधिक चिसो हावा चलिरहेको हुँदा अब आराम गर्ने र भोलिपल्ट २२ गते बिहान ७ बजे डोटीको झिग्रानाबाट बिचपानी हुँदै खप्तड जान १६ किमि उकालो बाटो रहेको र ७/८ घण्टा लागे स्थानीयहरुले सुनाए ।

दोस्रो दिन बिहान ७ बजे नै तयार भएर खप्तड क्षेत्रको प्रवेशद्वारको रूपमा रहेको झिग्रानाबाट खप्तड क्षेत्र प्रवेश गर्यौ र ६ किमि उकालो ५ घण्टामा पार गर्दै दिउँसो १२ बजे बिचपानी पोष्टमा आइपुगेर खाना खायौं । बिचपानीबाट १२ः३० बजे हिड्यौ खप्तडका लागि खप्तड पुग्न १० किमि थियो ।

समय थियो ५ घन्टा मात्रै । निकै चुनौतीपुर्ण रहेको थियो त्यो यात्रा ? हाम्रो टोली सबै भन्दा कम हिड्ने थियो भने मुख्यसचिवको टोली सबै भन्दा बढी हिड्ने टोली थियो, मध्य भागमा बिच बिचमा जरसापको टोली हिड्ने गरेको थियो समन्वय गर्दै ।

मलाई हिड्न सक्दैन भनेर घोडाको व्यवस्थापन गरेको थियो तर म कहिले पनि घोडा नचढेका कारण डराएर घोडा चड्न मानेको थिएन साथीहरूले जोर जबर्जस्ती गरे पछि घोडा चढ्न बाध्य भए, घोडा चढे पछि त घोडा हिँड्न मान्दै मानेन अनि म घोडाबाट तल झरे र खुशी पनि भए घोडाले उकाली उरालोमा कहाँ फाल्छ भन्ने डर लागि रहेको थियो अब दुर्घटना टर्यो भनेर ।

हाम्रो टोली डोटी जिल्लाको झिग्रानाबाट बाजुरा जिल्लाको खप्तड १६ किमि उकालो पार गर्दै ११ घण्टा पैदल यात्रा गरे पछि बेलुकी ६:०० बजे खप्तडको अतिथीगृहमा आइपुगेका थियो । यति धेरै थाकेका थियौ कि किन आयौ भन्ने पनि लाग्यो ।

***

क्यान्टिन वाला छेडादह होटेल साहु रावल जीलाई चाउचाउको सुप बनाइ दिन अनुरोध ग-यौँ र उहाँले बनाएर ल्याउनु भयो र त्यो खाइ सके पछि अलि चिसो कम भएको महसुस भयो । केही समय पछि खाना खायौँ र सल्लाह भयो कि भोली बिहान ११ बजे सम्म सुत्ने, अगाडि नहिड्ने । राती खुट्टा दुखेर निन्द्रा नै लागेन ।

२३ गते बिहान ६ बजे उठ्दा त खुट्टा खासै दुख्दैन अलि हिड्न सकिन्छ जस्तो लाग्यो । बिहान नै सहस्रलिङ्गको दर्शन गर्न जाउ भन्ने जरसापले खबर पठाउनु भयो । हामी पनि जान तयार भयौं ।

टोली अगाडी बढी सकेको थियो पछि पछि घोडा लिएर आउदै थिए नजिकै पुग्दा मलाई घोडा चढ्न भने पछि मैले म हिड्न सक्छु मलाई घोडा आवश्यक छैन भने तर जरसाप लगायत साथीहरू सबैले धेरै टाढा छ हिड्न सक्नु हुन्न धेरै ठाउँ पनि जानू पर्छ भन्नु भयो र तर मलाई डर लागेको थियो घोडाले कहाँ उछिट्याएर फाल्छ भनेर तर डरछेरुवाको आरोप लाग्छ भनेर घोडा चढे ।

कतिखेर अगाडि हुतिन्छु कति खेर पछाडी हुतिन्छु यस्तै हुँदै जादै गर्दा घोडामा बस्न र चलाउन सिकेको महसुस गर्दै बिहान ८ बजे देखि दिउँसो २ बजे सम्म घोडा चढेर निकुञ्ज भित्रका विभिन्न क्षेत्रको अवलोकन गर्ने काम गरियो । नेपाली सेना गोरख गुल्म खप्तड ब्यारेकका क्याप्टेन प्रदिप चन्दको महत्वपूर्ण सहयोग रहेको थियो ।

खप्तड क्षेत्रमा गर्नुपर्ने महत्वपूर्ण कामका बारेमा मुख्य सचिव रामकृष्ण सुवेदी सरले मसिनो गरि अध्ययन र नोट गर्नु भएको छ । खप्तड क्षेत्रमा निर्माण भएका संरचनाको व्यवस्थापन र संरक्षणको अभाव रहेको देखिन्छ । पुनर्निर्माण गर्नुपर्ने छ । अब निर्माण हुने संरचनाको गुणस्तर र योजनाबद्ध रूपमा गर्नुपर्ने देखिन्छ ।

***

२०७७ कार्तिक २४ गते बिहान ८ः४० बजे खप्तडबाट फर्किनु पर्दा बझाङको खप्तड छान्ना गाउँपालिकाको लोखडा हुँदै दारु गाउँ ५ घण्टा पैदल यात्रा गरेर आइपुगियो । त्यहाँबाट तमेल हुदै बझाङ जिल्लाको सदरमुकाम चैनपुर बेलुकी ६ बजे पुगियो ।

जयपृथ्वी नगरपालिका मेयर साप संग भेटघाट पछि चैनपुरबाट २५ गते बिहान ८ बजे गाडीको यात्रा गरेर २५ गते राति ९ बजे कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका आइ पुगियो । खप्तड जादा डोटी जिल्लाबाट र फर्किदा बझाङ जिल्लाबाट र अछामको सहस्रलिङ्ग, बाजुराको खप्तड दह, खप्तड पाटन लगायत क्षेत्रको अवलोकन गरियो ।

खप्तडका विभिन्न स्थानका आ–आफ्नै महत्व र पौराणिकता छ । खप्तडमा २२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) । यी दृश्यको अवलोकनसँगै हरेक मानिसले जीवनभरका दुःखपीडा एक क्षणका लागि भए पनि बिर्सिन्छन् ।

***

खप्तडको पहिचान
पौराणिक कालमा ऋषिमुनिहरुले तपस्या गरेको यो क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रुपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम विस्तारै अपभ्रंश हुँदै खप्तड रहन गएको किंम्बदन्ती छ ।

पौराणिकताअनुसार पाण्डवहरुले १४ वर्ष वनबास बस्दा केही समय खप्तडमा पनि बिताएका थिए । खप्तडमा भीमले हलो जोत्दा माटोबाट थुम्का (झोती) बनेको कथन छ । वि. सं. २०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि खप्तडले पर्यटकलाई आकर्षित गर्दै आयो ।

समुद्र सतहबाट २४–३७ सय मिटर उचाइ र २२५ वर्गकिमी क्षेत्रफलमा फैलिएको खप्तडमा ५० वर्षअघि खप्तड बाबाले तपस्या गरेका थिए । खप्तड बाबाको आगमनपछि स्थानीयले राजा वीरेन्द्रलाई आग्रह गरेपछि २०४२ सालमा खप्तडलाई राष्ट्रिय निकुञ्ज घोषणा गरियो ।

त्यसपछि दुई सयभन्दा बढी प्रजातिका फूलहरु र बहुमूल्य जडिबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जंगली जनावर र पन्छीको सुरक्षाका लागि २०४७ सालमा नेपाली सेनाको ब्यारेक स्थापना गरियो ।

वि. सं. २००२ सालमा बझाङी राजा रामजंग सिंहको अगुवाइमा खप्तडका जंगलमा तपस्या गरिएको थियो । त्यसपछि खप्तड देवभूमिका रुपमा प्रख्यात हुँदै गयो ।

खप्तडको खास जिनिस ?
बझाङ, बाजुरा, अछाम र डोटी गरी चार जिल्लाको संगमस्थल खप्तड राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्दछ । यो क्षेत्रमा सल्ला, खस्रु, पाउमेल, निगाला, भोजपत्र, गुराँस, रानीसल्लो, उत्तिस, महुवा, लौठसल्ला लगायतका रूख–वनस्पति पाइन्छन् ।

तथ्यांकमा हेर्दा निकुञ्जअन्तर्गत वन क्षेत्र १९९.७३, घाँसे मैदान १३.४७, कृषि भूमि ९ र झाडी बुट्यान २.८ वर्गकिमी छ । खप्तडमा ३८२ प्रकारका रुख, वनस्पति तथा जडीबुटी पाइन्छन्, जसमा रूख ५७, बुट्यान ७८, घाँसपात २०३, लहरा ८ र उन्यु १९ प्रजातिका छन् ।

कालकुट, पाँचऔंले, नीरमसीजस्ता जडिबुटी पनि पाइन्छन् । १२ वटा गुफा भएको खप्तड क्षेत्रमा २८७ प्रजातिका पन्छी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप र ६ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् ।

हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तुरी, चितुवा आदि जनावर खप्तडमा प्रशस्तै भेटिन्छन् । स्थानीयहरुले जेठी बहुरानी, सहस्त्रलिंग, केदार ढुंगा, नागढुंगा, भुदेउ ढुंगा, माइका थानलगायतका स्थानलाई शिवस्वरूप मानेर पूजा गर्ने गर्छन् ।

खप्तड बिशेश पर्व : गंगा दशहरा
हरेक वर्ष जेष्ठ शुल्क पक्ष दशमी तिथिमा पर्ने गंगा दशहरा मेलामा हजारौं तीर्थालु खप्तड पुग्ने गर्छन् ।

गंगा दशहराको दिन त्रिवेणीमा नुहाँउदा पाप पखालिने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पूरा हुने गहिरो विश्वास रहेकोले यो मेलाको आकर्षण धेरै छ ।

(लेखक चन्द कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर हुन ।)

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय