Sunday, April 18, 2021

कोरोना कहरले रोकियो बैतडी तल्लोस्वराडमा विद्युतीकरण

बैतडी ।
कोरोना कहरका कारण गरिएको लकडाउनले रोकिएको विद्युतीकरणको काम बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै शुरु हुन सकेको छैन । तल्लोस्वराडमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार हुन लागेको थियो ।

गत चैत ११ देखि गरिएको लकडाउनले रोकिएको विद्युत् विस्तारको काम शुरु हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका इलेक्ट्रिकल इन्जिनीयर अभिषेकराज कलवारले जानकारी दिए । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमा विद्युत्को राष्ट्रिय प्रसारण पुर्याउनका लागि काम शुरु भएको थियो ।

सो क्षेत्रमा विद्युत्को पहुँच पुर्याउनका लागि पाटन र मेलौलीमा सवस्टेशन राख्ने र पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम शुरु भएको थियो । पाटनमा र मेलौलीमा सवस्टेशन निर्माणका लागि आरके इन्टरनेसनल प्रालिसँग २०७६ साल जेठमा ठेक्का सम्झौता भएर एक वर्षभित्र गरिसक्ने लक्ष्यसहित काम शुरु भएको भए पनि कोरोना कहरले गर्दा काम प्रभावित भएको उनले बताए । लकडाउनमा सामग्री ढुवानी गर्न नसक्दा काम रोकिएको हो ।

उनले भने, ‘सवस्टेशन निर्माणका लागि टेण्डर भइसकेको र निरीक्षण अनुगमन भएकाले केही दिनमै पुनः काम सञ्चालन हुन्छ ।’ प्राविधिकसहितको टोलीले निरीक्षण अनुगमनको काम सम्पन्न गरेकाले तिहारपछि काम शुरु हुने उनले बताए । उनले भने, ‘पेपर वर्कको काम सकिएकोले अब चाँडै निर्माणको कामलाई अगाडि बढाइन्छ ।’ पाटनमा सवस्टेशन

निर्माणका लागि रु ११ करोड ५० लाख र मेलौलीमा सवस्टेशन निर्माणका लागि रु १२ करोड ५० लाखमा ठेक्का सम्झौता भएको हो । यस्तै पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि अमृत इन्द्रधनु जेभीसँग सम्झौता भएको थियो । लाइन विस्तारको काम पनि एक वर्षभित्र सक्ने गरेर २०७६ साल जेठमा सम्झौता भएको थियो ।

पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि रु दुई करोड १४ लाखमा ठेक्का सम्झौता भएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । जिल्लाको तल्लोस्वराड क्षेत्रलाई विद्युत्को राष्ट्रिय प्रसारणमा पहुँच पुर्याउन सवस्टेशन निर्माण र लाइन विस्तारको काम शुरु भएको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

धनगढी । कैलालीका विद्यालय १० दिन विद्यालय बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी...

लोकप्रिय

Shares