महेन्द्रनगर ।
कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले गएरातीदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको थियो ।
घरबाहिर निस्कन प्रतिबन्ध लगाए पछि कञ्चनपुरका बजार सुनसान बनेका छन् ।
सदरमुकाम समेत रहेको महेन्द्रनगर, झलारी, दैजी, बेलौरी लगायतका साना–ठुला बजार बन्द छन् । अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाए पछि बजारमा चहलपहल समेत घटेको छ ।
बिहानैदेखि यहाँका बजारका पसलहरु बन्द छन् ।
खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, व्यवसाय, उद्योग, कलकारखाना बन्द छन् ।
महेन्द्रनगरमा कहिकतै मोटरसाइकल र अटो रिक्सा मात्रै चलिरहेका छन् ।
सूचनाको बर्खिलाप गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।
प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
प्रशासनको निर्णय कार्यान्वयनका लागि ठाउँ–ठाउँमा सुरक्षाकर्मी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले बताए ।
‘बजारमा देखिएकाहरुले सम्झाउने तथा माइकिङ गरेर सूचित गर्दैछौँ, बजारमा क्षेत्र सुनसान छ’ डिएसपी पौडेलले भने, ‘प्रशासनको निर्णय कार्यान्वयका लागि ठाउँ ठाउँमा नेपाल प्रहरी, शसस्त्र प्रहरी खटिएका छन् ।’
गड्डाचौकी नाका मंगलबारदेखि बन्द
भारतबाट फर्केने नेपालीको अत्यधिक चाप भएको गड्डाचौकी नाका मंगलबार बिहानदेखि पूर्ण रुपमा बन्द हुने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मंगलबार बिहान ७ बजेदेखि नाकामा पैदल यात्रुसमेत आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।
नाकाबाट प्रवेश गर्नेहरुको स्वास्थ्य जाँच प्रभावकारी तुल्याइएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले उनीहरुको विवरण कम्प्युटर प्रणालीमा यद्यावधिक तुल्याउने जनाएको छ ।
नाका बन्द हुने भए पछि भारतमा रहेका नेपाली घर फर्किने क्रममा छ । अन्य दिनको तुलनामा सोमवार गड्डाचौकी नाका भएर भित्रिनेको संख्या कम छ ।
शनिवार ९ बजेसम्म २ सय भन्दा बढि मानिस भित्रिएको गड्डाचौकीस्थित हेल्थ डेस्कले जनाएको छ । भारतबाट स्वदेश भित्रिएकाहरुलाई घरसम्म पु-याउन विभिन्न निकायले प्रवद्र्धन गरेका छन् ।
लक डाउन पछि सुनसान कन्चनपुर
Gepostet von Dainik Sanchar am Sonntag, 22. März 2020
सबै व्यवसाय बन्द
कञ्चनपुर उद्योग वाणिज्य संघले अतिआवश्यक बाहेकका सबै व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले अतिआवश्यक बाहेकका सबै व्यवसाय आजदेखि चैत २१ गते सम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
मल्लका अनुसार अतिआवश्यक सेवा मुलक व्यवसाय भने खुल्ला नै रहनेछन् । मल्लले खाद्यान्न र मेडिकल सेवा बन्द नहुने जानकारी दिए ।
भारतीयलाई व्यापार गर्न रोक
बेलौरीमा भारतीय व्यापारीलाई व्यापार गर्न रोक लगाइएको छ । विश्व महामारीको रुप लिएको कारोना भाइरस रोकथाम तथा नेपाल भित्रिन नदिन बैलौरीमा भारतिय व्यापारीलाई व्यापार तथा प्रवेशमा रोक लगाइएको छ ।
बेलौरी उद्योग वाणिज्य संघको आइतबार बसेको बैठकले भारतीय बजारतर्फ आवत–जावत गर्दा कोरोनाको संक्रमण फैलिने खतरा भएकोले त्यस्ता व्यापारीलाई नेपाल प्रवेशमा पूर्णरुपमा रोक लगाउने निर्णय गरिएको बेलौरी उद्योग वाणिज्य संघले जनाएको छ ।